महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद यथावत
काठमाडौँ- नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत् रहेको नेकपा एमालेले जनाएको छ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक वक्तब्य नै जारी गरेर स्पष्ट पारेका हुन् ।
महाधिवेशन आयोजक समिति गठन गर्दा पदाधिकारी नरहने भए पनि अहिलेसम्म सबै पदाधिकारी यथावत् रहेको ज्ञवालीले एक वक्तब्य नै जारी गरेर जानकारी दिएका हुन् । माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन गर्न केही निर्णय भएको छ ।
तर, सबै निर्वाचित कमिटी भंग गरिएको होइन भन्दै उनले स्पष्ट पारेका छन्, ‘महासचिवले आह्वान गर्नु भएको केन्द्रीय कमिटी बैठक नेकपा एमाले पुनः स्थापनापछिको विशेष बैठक हो । यो २०७५ जेठ ३ गते अघिको एमाले होइन, यो नयाँ एमाले हो । यसमा एकता प्रक्रियामा आएका कमरेडहरूलाई व्यवस्थापन गर्न आवश्यक छ ।’
नियमित बैठकमा जानुअघि विशेष बैठक गर्नुपर्ने बाध्यता थियो । माओवादी केन्द्र छाडेका नेताहरुलाई पनि संगै लैजान पर्ने अवस्था रहेकोले यो विशेष बैठक बोलाएर सहज गरेको पनि उनले बताए । आगामी दिनमा नियमित बैठक बसेर कैयन निर्णयको अनुमोदन गर्न आवश्यक रहेको उनले बक्तब्यमा उल्लेख छ ।
बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि थप केही संगठनात्मक प्रबन्धहरु गर्ने निर्णय गर्दै अर्को निर्णय नहुँदासम्म मातहतका कमिटीहरूलाई पूर्ववत् क्रियाशील रहन आह्वान गरेको छ । बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशित गरेको छ । बैठकले प्रदेशसभामा हाम्रो पार्टी संसदीय दलका नेताहरुलाई आफ्ना सदस्यहरुलाई अनुशासित र एकतावद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वान गरेको पनि वक्तब्यमा उल्लेख छ ।
अब पहिले झै समानान्तर पार्टी कमिटी देखि अनेकन कार्यको छुट आगामी दिनमा हुन नदिने गरि निर्णयहरु भएको पनि उनले बताए । नेकपा माओवादी केन्द्रसँग एकताको कुरा कतै नभएको भन्दै अव नयाँ एमालेका रुपमा पार्टी अघि बढेको पनि उल्लेख गरेका छन् ।
यसअघि नेकपा हुँदा महासचिव रहेर पार्टी संचालन गर्नुभएकोमा विष्णु पौडेललाई धन्यवाद समेत दिइएको छ । बैठकले पार्टी एकीकरणका बेला कायम ४३५ केन्द्रीय सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गर्दै सब्कटका बेला पार्टी एकता र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिनुभएका कमरेडहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह लगायत नेकपा (माओवादी–केन्द्र) पृष्ठभूमिका २३ जना कमरेडहरुलाई केन्द्रीय कमिटीको जिम्मेवारीमा स्थापित गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैठकले पार्टी महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचना लगायत कतिपय प्रश्नमा नवौं महाधिवेशनबाट पारित विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन वाधा अड्काउ फुकाउने पनि निर्णय गरेको विज्ञप्तीमा छ ।