'तिम्रो केन्द्रीय सदस्य चाहिन्न' भन्दै अस्विकार गर्नेको लहर चलेपछि... - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

‘तिम्रो केन्द्रीय सदस्य चाहिन्न’ भन्दै अस्विकार गर्नेको लहर चलेपछि…



प्रधानमन्त्री समेत रहेका केपी ओलीले एकलौटी रूपमा थपेका केन्द्रीय सदस्यहरूले धमाधम पद अस्विकार गरिरहेका छन् । ओली पक्षले बाँडेका पद अस्विकार गर्नेको लहर नै चलेको छ।

आफूहरूलाई थाहा नै नदिई र पार्टी सिध्याउने तरिकाले गरिएको नियुक्ति नचाहिने भन्दै बहिस्कार गर्नेको लहर नै चलेको छ । आफ्नो सहमति नलिइ ओली समूहको केन्द्रीय सदस्य बनाइएको भन्दै लुम्बिनी प्रदेशका केही नेताहरुले समेत पद अस्वीकार गरेका छन् ।

नवलपरासी पश्चिमकी प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाकै पुराना कम्युनिस्ट नेता वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीलगायतले आफ्नो सहमति बेगर ओली समूहको बैठकले केन्द्रीय सदस्य बनाएको भन्दै असहमति जनाएका छन् ।

दाङका प्रदेश सांसद अमरबहादुर डांगीले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीले एक प्रेस विज्ञप्ति नै जारी गरेकी छन । उनले विज्ञप्तिमा लेखेकी छन्, ‘ओली समूहले पार्टी विधान र कार्यकर्ताको भावनाविपरीत विस्तार गरेको केन्द्रीय कमिटी सदस्यमा नरहने घोषणा गर्दछ र सीमित व्यक्तिको लाभ र प्रतिष्ठाको लागि सार्वभौम प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादी प्रवृत्तिबाट सामाजिक रुपान्तरण सम्भव नभएको मेरो निष्कर्ष छ,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूलधारमैं रहेको जानकारी गराउँदै पार्टीलाई विधि-विधान, प्रक्रियाअनुसार चलाउन नेतृत्वलाई आग्रह गर्दछु ।’