धमाधम पद अस्विकार गर्दै प्रचण्ड-माधव समुहका नेताहरू
काठमाडौं- नेकपा प्रचण्ड-माधव समुहले बनाएका जिल्ला तहका पदाधिकारीहरुले भटाभट पद अस्विकार गरेका छन् । आफूहरूलाई एक बचन पनि नासोधिएको र बिधिबाहिरबाट ल्याइएको भन्दै पद अस्विकार गर्नेको संख्या थपिने क्रम जारी छ ।
प्रचण्ड-नेपाल समुहले डोल्पा जिल्ला अध्यक्ष बनाएका दत्तबहादुर रोकायाले आफू केपी ओली पक्षमा रहेकाले उनीहरूले दिएको पास अस्विकार गर्ने बताएका छन् ।
रोकायाले आफूलाई जानकारी नदिई, एक बचन नसोधी अध्यक्ष बनाइएको भन्दै समाचारबाट थाहा भएको बताएका छन् । उनले आपत्ति जनाउंदै आफू ओली समुहको चुनावी अभियानमा रहेको बताएका छन् ।
उनले विज्ञप्ति जारी गरी आफ्नो नाम अर्को समूहको अध्यक्षमा राखिएकोमा असहमति जनाएका हुन् ।
यस्तै प्रचण्ड-माधव पक्षका नेता हिमाल शर्माले काठमाडौं जिल्ला कमिटीको सचिवको जिम्मेवारी अस्विकार गरेका छन् । शर्माले पार्टी मिलाउँदा आफू उक्त पदमा भएको तर अहिलेको परिस्थिति फरक भएको भन्दै सचिवको जिम्मेवारी अस्विकार गरेका छन् ।
शर्मा तत्कालीन माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटी अध्यक्ष थिए । पार्टी एकतापछि उनले सचिवको जिम्मेवारी सम्हालेका थिए ।
उनले अरूलाई जिम्मेवारी दिँदा राम्रो हुने भन्दै पद अस्विकार गरेको बताइएको छ ।
भोजपुरका जिल्ला सचिव विमल खड्काले पनि सचिव पद अस्विकार गरेका छन् । उनले अध्यक्ष नपाएपछि सचिव पद अस्वीकार गरेको बताइएको छ । उनी पार्टी एकीकरणपछि सचिव थिए ।
प्रचण्ड-माधव पक्षले साबिक एमालेका शरणकुमार राईलाई अध्यक्ष बनाएर खड्कालाई सचिवमै कायम राखेको थियो । उनले फेसबुकमार्फत आफू सचिवमा नरहने भन्दै अर्को व्यक्ति सचिव बन्ने बताएका छन् ।