नेकपालाई भोट दिएर जनताले पछुतो मान्दैछन - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

नेकपालाई भोट दिएर जनताले पछुतो मान्दैछन



नेपालगञ्ज – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार जनविरोधी काम गरिरहेको टिप्पणी गरेका छन् ।

प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा डा. महतले सरकारले शान्ति सुरक्षा दिन नसकेको बताए । उनले सरकारको आर्थिक गतिविधि पनि गलत भएको आरोप लगाए ।

‘कम्युनिष्टहरुको राष्ट्रवादको सत्तामा पुग्ने भर्‍याङ मात्रै रहेछ, जुन कुरा सरकारको पछिल्लो गतिविधिले देखाएको छ, डा. महतले थपे, अहिले जनताले कम्युनिष्टलाई मत दिएकोमा पश्चाताप गरिरहेका छन् ।’

सहमहामन्त्री डा. महतले सरकारले प्रहरी, प्रशासन, न्यायालयका साथै निजी क्षेत्रलाई प्रभाव पार्ने काम गरिरहेको बताए । ‘कानूनी शासन भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा सरकारले काम गरिरहेको छ । जुन कुरा बुढीगण्डकी, वाइडबडी जहाज प्रकरणमा देखिन्छ, डा. महतले भने, सरकारले कानूनी आधारमा हुने लगानीलाई लात हानेको छ ।’

महासमिति बैठकको तयारीमा रहेको कांग्रेसले अब हुने आफ्नो आर्थिक नीति कस्तो गराउने भन्ने विषयमा देशव्यापी सुझाव संकलन गरिरहेको छ । डा. महतले उत्पादनको नेतृत्व आम जनता र निजी क्षेत्रले गर्ने र वितरणको जिम्मा सरकारले लिनु पर्ने कांग्रेसको आर्थिक नीति रहिरहेको बताए ।

उनले कांग्रेसलाई एकजुट र बलियो बनाउन पनि लागि परेको खुलाए । ‘आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने रणनीति बनाएर हामी अघि बढेका छौं, महतले भने, पार्टीमा साना तिना असमझदारी छ । त्यसलाई हटाउदै छौँ । अबको चुनावमा कम्युनिष्टको नारा, आश्वासन र सपनाहरु बिक्दैनन् ।’

कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहितको टोली नेपालगञ्जमा आइपुगेको हो । टोलीले यस क्षेत्रका सभापतिहरुलाई बोलाएर आगामी आर्थिक नीति कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल समेत गरेको थियो ।