ओसामा बिन लादेनका छोराको टाउकोको मूल्य ११ करोड ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ओसामा बिन लादेनका छोराको टाउकोको मूल्य ११ करोड !



अमेरिकाले आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको विषयमा सूचना दिनेलाई १० लाख डलर (करिब ११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी गृह मन्त्रालयले हमजालाई अलकायदाको प्रमुख नेताको रुपमा चित्रण गर्दै उक्त घोषणा गरेको हो ।

पछिल्ला वर्षमा हमजाले थुप्रै भिडियो रिलिज गरेका छन् जसमा उनले आफ्ना पितालाई मार्ने अमेरिका र उसका पश्चिमी सहयोगीहरुसँग बदला लिनका लागि समर्थकहरुलाई एकजुट हुन आह्वान गरेका छन् । अमेरिकी विशेष बलले सन् २०११ मा पाकिस्तानको एबटाबादमा ओसामा बिन लादेनको हत्या गरेको थियो ।

ओसामाका छोरा हमजा ३० वर्षका छन् । अमेरिकाले उनलाई दुई वर्ष अगाडि नै आतंककारी घोषणा गरेको थियो । हमजाले मोहम्मद अताकी छोरीसँग बिहे गरेका छन् । मोहम्मद अता उनै हुन् जसले २००१ को हमलामा चार व्यवसायिक बिमानमध्ये एउटा अपहरण गरेका थिए र त्यसले न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए ।

एबटाबादमा बिन लादेनको घरबाट केही चिठी भेटिएका थिए जसबाट खुलेको थियो कि हमजालाई भावि नेताको रुपमा तयार गरिँदै छ । हमजालाई ओसामाले सबैभन्दा बढि माया गर्थे ।

अमेरिकी गृह मन्त्रालयको डिप्लोमेटिक सेक्यूरिटीका असिस्टेन्ट सेक्रेटरी माइकल इवेनअफले भने, ‘सम्भवतः उनी अफगान-पाकिस्तान सीमामा हुन सक्छन् ।’

हमजाले इरानमा आफ्नी आमासँगै धेरै वर्ष बिताएका थिए । त्यही उनको बिहे भएको थियो ।