प्रचण्डको निष्कर्ष: चुनावमा गठबन्धन हुँदैन, आक्रामक बन्न कार्यकर्तालाई निर्देशन - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रचण्डको निष्कर्ष: चुनावमा गठबन्धन हुँदैन, आक्रामक बन्न कार्यकर्तालाई निर्देशन



माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको चुनाव आफ्नै बलबुतामा जित्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रचण्डले चुनाव माओवादीका लागि जीवनमरणको सवाल भएको र गठबन्धनको भरमा जितिन्छ भनेर दिमागमा नराख्नसमेत आग्रह गरे ।

‘गठबन्धनको भरमा चुनाव जितौँला भन्ने भ्रम दिमागबाट आजै निकालिदिनुस् । आफ्नो तागत र आफ्नै बलमा चुनाव लडौँ, जसरी पनि चुनाव जित्ने गरेर अघि बढौँ,’ माओवादीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षणमा प्रचण्डले भने ।

प्रचण्डले चुनावलाई ‘ब्याटल’को रूपमा बुझ्न निर्देशन दिएका छन् । ‘विगतमा लडाइँमा जाँदा हामी कसरी जान्थ्यौँ, त्यसै गरी यो चुनावमा जान जरुरी छ । यो चुनाव सामान्य हुनेछैन । यसलाई ब्याटलकै रूपमा बुझ्नुहोला ।’

माओवादीलाई स्थानीय तह र अबका चुनावमा परास्त गर्न धेरै शक्ति लागेको प्रचण्डको दाबी थियो । दुई दलीय प्रणालीमा जाने बहस त्यसैको रूपमा प्रस्तुत भएको उनको भनाइ छ । केही दिनअगाडि एमाले महासचिव शंकर पोखरेलले मुलुकमा दुई दल भए पुग्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

पहिलो संविधानसभामा जनयुद्धको रापतापसहित चुनावमा जाँदा सफलता प्राप्त भएको उनले स्मरण गरे । त्यस्तै जोसका साथ अहिलेको स्थानीय चुनावमा होमिन प्रचण्डको कार्यकर्तालाई निर्देशन छ । सेटिङ गरेर चुनाव जित्न कांग्रेस एमाले नै सिपालु भएको उनको भनाइ छ ।

‘आक्रामक ढंगले प्रस्तुत हुन सकियो भने चुनावमा सफलता प्राप्त गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘हामी सेटिङ मिलाउन जान्दैनौँ, तर सेटिङ मिलाउनेको सातो लैजान जान्दछौँ । इँटको जवाफ पत्थरले दिएर सातो लिनचाहिँ सक्छौँ ।’

संसद् विघटनविरुद्धको आन्दोलनको सफलताले ऊर्जा दिएको उनले बताए । उनले अबका दुई महिना सम्पूर्ण तागत चुनावलाई लगाउन आग्रह गरे । उनले जनतासँग कमजोर भएको सम्बन्ध सुदृढीकरण गर्ने गरी गाउँ–गाउँ जान कार्यकर्तालाई निर्देशन दिए ।

जनताको सेवा गर्नेभन्दा पनि आफ्नै सेवा गर्नेतर्फ केन्द्रित हुनु दुर्भाग्य भएको उनको भनाइ छ । आत्मसमीक्षासहित चुनावमा जान उनले आग्रह गरे । देशभर प्रशिक्षणका क्रममा रिपोर्ट लिँदा पार्टी कतै कमजोर नभएको देखिएको उनको भनाइ छ ।

प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँगको सहकार्य सम्झिँदा कहिलेकाहीँ दिक्क लाग्ने गरेको पनि सुनाए । ‘संसद् विघटन ओलीको एकल निर्णय नभई अन्तर्राष्ट्रिय शक्तिको समेत डिजाइनमा थियो,’ उनले भने, ‘पार्टी एकताको समयमा ओलीलाई नायक बनाउन खोजियो, तर उनी खलनायक बनेर निस्किए,’ प्रचण्डले भने, ‘एकता प्रक्रिया नै नटुंगिँदै पार्टी विभाजन हुनु दुर्भाग्य थियो । प्रतिगमनको खतरा अझै टरिसकेको छैन ।’