मुख्यमन्त्री पोखरेलले गरे प्रधानमन्त्री ओलीको बचाउ - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

मुख्यमन्त्री पोखरेलले गरे प्रधानमन्त्री ओलीको बचाउ



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको बचाउ गरेका छन् ।

उनले दलभन्दा बाहिरबाट प्रधानमन्त्रीविरुद्ध लगिएको अविश्वास प्रस्ताव दर्ता गर्ने प्रयास असफल भएपछि बाध्यातात्मक रूपमा प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जानुपरेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका पोखरेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘पार्टी एकताको मर्म विपरीतको समिकरण, पार्टी विधानको व्यवस्था विपरीत पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कदमका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको हो।’

प्रधानमन्त्री ओलीविरुद्ध नेकपाकै ९० सांसदले अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने तयारी गरेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी आउँदो वैशाखमा ताजा जनादेशका लागि निर्वाचन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गरेका थिए।

सरकारले गरेको सिफारिस राष्ट्रपतिले सदर गरेपछि प्रतिनिधि सभाको विघटन भएको छ। नेकपा नेता पोखरेलले पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिने भन्दै चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुने, सडक आन्दोलनको बाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरूलाई फाइदा पुर्‍याउन सक्ने उल्लेख गरेका छन्।