नेकपा र सरकारमा 'ओलीराज'को अन्त्य हुने सङ्केत ! - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

नेकपा र सरकारमा ‘ओलीराज’को अन्त्य हुने सङ्केत !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारको हैसियत छताछुल्ल भएको छ । दिनानुदिन बढ्दो हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारले आक्रान्त मुलुकमा सरकार छ कि छैन जसतो भएको छ ।

त्यतिमात्र होइन भएको सरकारले पनि अपराधीलाई बढावा दिँदा अपराधीको मनोबल बढ्दो छ । नेकपाभित्र यसकै कारण चरम असन्तुष्ट देखिएको छ । केपी शर्मा ओली आफै पनि पार्टीका श्री ३ हुन् भन्दै हिँड्नेहरु एमालेकालमै थिए । अहिले त्यो झन् स्पष्ट भएको छ ।

बहुमतको सरकार भएपछि विकासले फड्को मार्छ, काम गर्न सहज हुन्छ भनेर उर्लनेहरु अहिले रमिते बनेका छन् । ओलीलाई भाषण गर्दा फुर्सद छैन । त्यसैले होला नेकपाभित्रै चरम विरोध खडा भएको छ ।

एकातिर पार्टीभित्रको आन्तरिक किचलो र अर्कातिर सरकारमा देखाएको रबैयाको भँडास नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल माकुनेले पोखेका छन् । उनले आफू पहिलो पटक संभवत संघीय संसदमा बोल्नका लागि यसरी उभिएको भन्दै उनले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको चर्को आलोचना गरे ।

उनले गृहमन्त्री छन् कि छैनन् भन्ने थाहा नभएको समेत भने । गृहमन्त्रीलाई थाहा छ कि छैन भने । मन्त्रीहरुलाई भएका गतिविधिप्रति जानकारी छ कि छैन भने ।

उनले मन्त्रीहरूका कार्यशैली, सरकारका विवादास्पद निर्णय र नियुक्तिका सम्बन्धमा पनि असन्तुष्टि जनाए । नेपालले भने, ‘जता गयो सरकारविरुद्ध असन्तुष्टि छ, आक्रोश बढेको छ। खिसिटियुरी छ। यो स्थितिले त सरकारलाई पोल्नुपर्ने हो नि।’

भ्रष्टाचारीलाई सजाय गर्ने भन्दा सरकारले नै पुरस्कृत गरिरहेको भन्दै नेता नेपालले असन्तुष्टि जनाए।

राष्ट्रद्रोहीलाई छुट दिने काम सरकारले गरेको भन्दै उनले असन्तुष्टि पोखे।  पप्पु कन्स्ट्रक्शनलाई कालोसूचीमा राख्नुको सट्टा राम्रा राम्रा ठेक्का दिइएको, विदास्पद छविका दिगम्बर झालाई टेलिकम अध्यक्ष बनाएको भन्दै नेपालले आक्रोश पोखे।

नेता नेपालले दुई तिहाईको सरकारसंग अब कुनै पनि बहाना छैन भन्दै चर्को आलोचना गरे । उनले काम नगर्नेलाई सरकारले कारवाही नगरेको भन्दै आक्रोश पोखे। कालोसुचीमा रहेकाहरु पुरस्कृत भएको भन्दै नेता नेपालले थप आक्रोश पोखे । उनले श्रीमती, छोराछोरी, पिएलाई विदेश घुमाएर मात्र विकास हुँदैन भनी मन्त्रिपरिषदप्रति थप आक्रोश पोखे ।

आक्रोशको पछाडि ओलीवाद
ओलीवाद पार्टी र सरकारमा हावी भएपछि नेपाल आक्रोशित भएका हुन् । एउटै व्यक्ति पार्टीको अध्यक्ष र प्रधानमन्त्री भएपछि कतिसम्म तानाशाही हुँदोरहेछ भन्ने महसुस नेकपाका नेताहरुले गरिसकेका छन् । त्यसैले त होला जगन्नाथ खतिवडाले त कि सरकार कि त पार्टी अध्यक्ष छाड्न सुझाव दिइसकेका छन् ।

माधव नेपाल पनि शक्ति एउटैमा हुन नहुनेमा छन् । आफूले स्पेश नपाएकोमा पनि उनी चिन्तित छन् । प्रधानमन्त्री बाहिर जाँदा सरकारमा कार्यबाहक दिने तर पार्टीमा कार्यबाहक नदिएपछि उनी थप आक्रोशित छन् ।

अहिले नेकपाका दुवै अध्यक्ष विदेशमा छन् । ओली अमेरिका र पुष्पकमल दाहाल प्रचण्ड सिंगापुरमा छन् । तर पार्टीमा कसैलाई कार्यवाहक दिइएन ।

वरिष्ठ नेता नेपाल पार्टीभित्र तेस्रो वरियतामा छन् । अध्यक्षद्धयपछि उनै सिनियर हुन् । तर उनलाई वास्ता गरिएन । संसदमा सरकारको विरोध गरेर नेता नेपालले पार्टीभित्रको उकुसमुकुस बाहिर ल्याएका हुन् ।

यो उकुसमुकुसले पक्कै पनि धेरै कुरा बोलेको छ । नेकपा तानाशाही शैलीमा चलिरहेकोसमेत संकेत नेता नेपालले गरेका छन् ।

यसबाट शक्तिशाली ओलीविरुद्ध आक्रोश बढ्दो रहेको संकेत मिल्दछ । ओलीको दबदबा सकिन सुरु भएको त हैन भन्ने आशंका बढाएको छ ।