ओलीले फेरि उठाए विदेशी शक्तिको कुरा: नेपालमा अराजकता फैलाएको आरोप - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ओलीले फेरि उठाए विदेशी शक्तिको कुरा: नेपालमा अराजकता फैलाएको आरोप



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन् ।

शुक्रवार नेकपा(एमाले) वाग्मती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका हुन् ।

नेपालमा कूटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कूटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उल्लेख गरे । नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफूविरुद्ध लेखिएको पनि उनले बताए । अध्यक्ष ओलीले नेपालमा विदेशीको नियन्त्रित अराजकता र अस्थिरता हुन नदिने र यदि भएको खण्डमा पराजित गर्ने बताए ।

“नेपालमै लामो समय कुटनीतिक सेवा गरेर फर्किएका एक विदेशीले के लेखेको त्यो किताब पहिलो कुरो एमाले विरुद्ध छ । मेरा विरुद्ध छ । उनको उद्देश्य देशको उद्देश्यभन्दा नेपालमा नियन्त्रित अराजकता फैलाउने छ,” उनले भने, “एउटा कुटनीतिज्ञले कबुल गर्छ लिखित रुपमा अनेकपल्ट हेरेर, लेखेर, हेरेर, सम्पादन गरेर प्रकाशन गरेको, सुविचारित ढंगले प्रकाशित गरेको पुस्तकमा । बोल्दाखेरी बाइ द वे बोलिएको कुरा होइन । लेखेर, हेरेर, पढेर फेरी विचार गरेर, सम्पादन गरेर प्रकाशित गरेको पुस्तकमा नियन्त्रित अराजकता हामी नेपालमा ल्याउँछौँ अथवा हाम्रो उद्देश्य नियन्त्रित अराजकता हो भन्ने छ ।”

अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताए । एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को स्पष्ट दृष्टिकोण भएको उनको भनाइ छ ।