ओलीले तयार पारे नयाँ नेतृत्वको सूची, भीम रावललाई अस्वीकृत गरिने
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको लिस्ट तयार पारिसकेका छन् । नयाँ नेतृत्व आज (आइतबार) सर्वसम्मतीबाट घोषणा गर्ने तयारीमा ओली छन् ।
शनिबार बसेको एमालेको महाधिवेशन बन्दसत्रमा सम्पूर्ण अधिकार केपी ओलीलाई सुम्पिइसकेकाले आज ओलीले एमालेको नयाँ नेतृत्वको सूची सार्वजनिक गर्ने बताइएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार असन्तुष्ट पक्ष सहमतिमा नआएपनि ओलीले अन्तिम तयारी गरिसकेका छन्।उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिएपनि उनलाई साइड लगाउने योजनामा ओली लागेका छन् ।
ओलीले बनाएको उक्त सूची आजको बन्दसत्रमा अध्यक्ष केपी ओलीले सार्वजनिक गर्नेछन् । नेता रावलले अध्यक्षमा उम्मेद्वारी दिएपनि उनलाई अस्वीकृत गर्ने रणनीतिका साथ ओली अगाडी बढेको बताइएको छ ।
आजको बन्दसत्र मध्याह्न १२ बजे सुरु हुने कार्यालय सचिव तामाङले जानकारी दिए। ओलीको अध्यक्षतामा एमालेको नयाँ पदाधिकारीको सूची तयार भइसकेको स्रोतले बताएको छ ।