कञ्चनपुर पुगेर ओलीले महाकाली सन्धि र खाएका गाली सम्झिएपछि - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

कञ्चनपुर पुगेर ओलीले महाकाली सन्धि र खाएका गाली सम्झिएपछि



कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री केपा शर्मा ओलीले महाकाली सन्धि र आफूले खाएका गाली सम्झिएका छन् ।

उनले सभामा भने, ‘मैले धेरै गाली खाएको तपाइहरूलाई थाहा होला । महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नदी बेचेको होइन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । फिर्ता ल्याइएको छ ।’

प्रधानमन्त्री ओलीले महाकाली नदी आफूले बेचेको नभई फिर्ता ल्याएको बताए । उनले महकालीको पानी नेपाली किसानको खेतसम्म पुगाउने योजना निर्माणाधीन अवस्थामा रहेको र छिट्टै पूरा हुने बताए । नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पिभी नरसिंह रावबीच २०५२ माघ १९ गते महाकाली नदीको एकीकृत विकास सम्बन्धी महाकाली सन्धि भएको थियो । यो सन्धि नेपालको हितविपरीत भएको र त्यसमा ओलीले महत्वपूर्ण भूमिका खेलेको आरोप लाग्दै आएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुदूरपश्चिममा ऐतिहासिक काम गरेको दाबी गरे । उनले दार्चुलामा गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रक्रियाअगाडि बढेको बताउँदै भने, ‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौं । अब यसले एउटा वातावरण बनेको छ । भारतसँग सम्‍वाद भइरहेको छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने दाबी गरे । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला दुई/तीन दिनभित्रै हुनसक्ने संकेत पनि गरे ।

‘अहिले प्रतिनिधिसभा विघटन भएको छ । हामी चुनावको तयारीमा छौ । हुनसक्छ अबको दुई÷तीनभित्रै संसद विघटनबारे फैसला हुन्छ होला,’ प्रधानमन्त्री ओलीले भने । उनले संसद पुर्नस्थापना भए देश झन अस्थिरतातर्फ धकेलिने बताए । उनले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापना भए आन्दोलन गर्छु भन्यो भन्दै गलत प्रचार गरिएको छ । मैले नारा जुलुस गर्छु भनेको होइन् । देश विकासको आन्दोलन गर्छु भनेको हुँ ।’