मन्त्री गुमाएका जसपा नेतालाई डाकेर ओलीले भने: ‘म रहुन्जेल चिन्ता नगर्नुहोला’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले बर्खास्त गरेका मन्त्रीहरूलाई बालुवाटारमा डाकेर सान्त्वना दिएका छन् । मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत भर्खरै मन्त्री बनेका नेताहरूको सपना चकनाचुर पारेको छ ।
सर्वोच्चको आदेश लगत्तै सबैलाई खबर पठाएर प्रधानमन्त्री ओलेले छलफलका लागि मन्त्रीबाट बर्खास्त भएकाहरूलाई साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सर्वोच्चको आदेशले आत्तिन नहुने भन्दै सम्झाएका थिए । उनले आक्रोशित बनेका जसपाका नेताहरूलाई आफू रहुन्जेल केहि चिन्ता गर्नु नपर्ने भन्दै सान्त्वना दिएका थिए । प्रधानमन्त्री ओलीले जे परेपनि काँध थाप्ने आफू भएकाले चिन्ता नगर्न आग्रह गरेका थिए ।
‘म छु, महुन्जेल तपाईंहरूले चिन्ता गर्नुपर्दैन’ प्रधानमन्त्री ओलीको भनाई उद्घृत गर्दै एक नेताले भने । ओलीले राजनीतिमा कहिलेकाहीं नसोचेका घटनाको सामना गर्नुपर्ने भन्दै लामो भूमिका बाँधेका थिए ।
मन्त्री पद खोसिएका जसपाका नेताहरू कालो निलो भएर प्रधानमन्त्री निवासमा पुगेका थिए । हतास मुडमा भएका उनीहरूलाई निकैबेर लगाएर प्रधानमन्त्री ओलीले फकाएका थिए । ओलेले सर्वोच्चको फैसला अन्तरविरोधपूर्ण भएकाले अहिले नै आत्तिनु नपर्ने बताएका थिए । उनले भनेका थिए, अदालतको आदेश आफैंमा अन्तरविरोधपूर्ण छ, ४ मन्त्रीले २१ वटा मन्त्रालय चलाउन सक्दैन । यो अन्तरिम आदेश मात्रै भएकाले सर्वोच्चले फैसलामा सच्याउँछ होला ।’
प्रधानमन्त्री ओलीले राजनीति आफूहरुकै पकडमा भएकाले चिन्ता गर्नु नपर्ने बताएका थिए । उनले आफू रहुन्जेल चिन्ता गर्नुपर्ने केहि कारण नभएको बताएका थिए ।