ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गर्दै - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गर्दै



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबारको बन्दसत्रमा पदाधिकारी र केन्द्रीय कमिटीको नामावली सार्वजनिक गर्ने भएका छन्।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको शनिबारको बन्दसत्र अबेर राति टुंगिएको छ। फेरि आइतबार बिहान बन्दसत्र चल्ने भएको छ।

आइतबारको बन्दसत्रमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको नामावली सार्वजनिक गर्ने बताएका छन्। शनिबार राति बन्दसत्र टुंग्याउँदै ओलीले भने, ”सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ। कोही साथीहरू सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ।”

भीम रावललाई व्यंग गर्दै ओलीले कसैको अधिकार नखोसिने बताए। रावलले आफू अध्यक्ष पदमा लड्ने बताउँदै आएका छन्। बन्दसत्रमा पनि उनले अध्यक्षमा लड्ने बताएका थिए।

त्यसको जवाफमा ओलीले भने, ”म लड्छु लड्छु भन्नुहुन्छ, भोलि तपाईंले मात्र मनोनयन दिएर अरुले दिएन भने को सँग लड्नु हुन्छ?”

चुनाव लड्नका लागि पहिले मनोनयन दर्ता गर्नुपर्ने ओलीको भनाइ थियो। उनले भने, ”भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो। मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने?”

शनिबारको बन्दसत्रमा नेता विष्णु पौडेलले सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष ओलीलाई सबै अधिकार दिन प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा महाधिवेशन हलले पारित गरेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। त्यसमा रावलले भने असहमति जनाएका थिए।

एमाले अध्यक्ष ओली महाधिवेशनको शुरुआतदेखि नै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका थिए। यसका लागि शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी थप्ने निर्णय गरेका थिए। त्यसलाई शनिबारको बन्दसत्रले पारित गरिसकेको छ।

एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ। जसमा १९ जना पदाधिकारी हुनेछन। अध्यक्षसहित पदाधिकारी र सबै केन्द्रीय सदस्यको चयन गर्ने अधिकार हलले ओलीलाई दिएको छ।