नेताहरूको निस्कर्ष: ओलीले पार्टी फुटाईसके
काठमाडौँ- दिउसो बालुवाटारमा देखिएका कतिपय दृश्य फिल्ममा कैद गर्न लायक थिए । एकातिर प्रधानमन्त्रीको सरकारी निवासमै पार्टी स्थायी कमिटिको बैठक चलिरहेको छ अर्कातिर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेर संसद बैठक स्थगित गरिसके ।
नेताहरू कोहि घाम ताप्दै थिए त कोहि खुइय सुस्केरा हाल्दै थिए भने कोहि झुण्ड झुण्डमा छलफल गर्दै थिए । यस्तै यस्तै दृश्यका बीच कहिले प्रधानमन्त्री ओली नै शीतलनिवास दौडीरहेका देखिन्थे कहिले अर्का अध्यक्ष शीतलनिवास दौडिएका देखिन्थे ।
नेताहरूको अन्योलता चलिरहेका बेला प्रधानमन्त्री ओलीसंग वार्ता गर्न अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई पठाइएको थियो । उनीहरूलाई भेटेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले दुवै पद नछाड्ने अडान दोहोर्याएका थिए । प्रधानमन्त्रीले दुवै पद नछाड्ने बताउंदै सकेको गर्नु आग्रह गरेका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने र अन्य कुरा भए गर्न तयार रहेको बताएको स्थायी समिति बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले यस्तो बताएका थिए ।
‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं म तयारै छु, तपाईंहरू सकेको गर्नुस’ ओलीले दाहाल र महासचिव पौडेलसँग भनेको भनाई उद्धत गर्दै नेकपा सचिवालयका एक नेताले बताए ।
स्थायी कमिटि बैठकमा प्रचण्डको ब्रिफिङ उद्घृत गर्दै एक सदस्यले भने, ‘पार्टी त केपी ओलीले फुटाइसक्नु भयो । तैपनि औपचारिक घोषणा नगरेको कारण हामीले इमान्दारीपूर्वक सम्पूर्ण प्रयत्न गर्नुपर्छ, गरौं।’
ओलीको यस्तो भनाईपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाईसकेको निष्कर्ष निकालेको छ ।
यद्यपि औपचारिक घोषणा नगरेकाले संवाद गर्नुपर्ने यो समूहको भनाई छ । बिहिबार बालुवाटारमा जारी छैटौं दिनको स्थायी कमिटी बैठक केहिबेर स्थगित गरेर अध्यक्ष दाहालले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका थिए ।