प्रचण्ड-माधवलाई फकाउन ओलीले लगातार दूत पठाएको खुलासा - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

प्रचण्ड-माधवलाई फकाउन ओलीले लगातार दूत पठाएको खुलासा



काठमाडौं- विभाजित नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्को समूह प्रचण्ड–माधव समूहसँग वार्ता गर्न दूतहरू पठाइरहेको खुलेको छ । ओली पक्षले प्रचण्ड-नेपालसँग वार्ताको कोसिस गरिरहेको बाहिर चर्चा भैरहेका बेला अध्यक्ष माधव नेपालले नै यसको खुलासा गरेका छन् ।

शुक्रबार आकस्मिक रुपमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकमा नेता नेपालले ओलीले बाहिर आफूहरूको सत्तोसराप गरिरहेकै बेला विभिन्न दूतहरूलाई आफूहरूसँग वार्तागर्न पठाएको बताए । ओलीले अहिलेपनि विभिन्न प्रलोभन र आस्वासन देखाउँदै अफर गरेको पनि उनले बताए ।

त्यतिमात्र होइन नेता नेपालले ओली पावरको ‘मिस युज’ गर्दै जाँदा मानिसहरुलाई भ्रममा पार्न पनि अभ्यस्त बनेको बताए । त्यसक्रममा नेता नेपालले ओली कुनै सीमाभित्र नबाँधिने व्यक्ति भएको टिप्पणी पनि गरे । राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन पहल गरेको भनेर ओलीले प्रचार गरेको समेत नेपालले स्मरण गरे । आफ्ना समुहका नेताहरूलाई पनि विभिन्न प्रलोभन देखाएर ओलीले भ्रम पैदा गर्ने कोसिस गरेको उनले बताउँदै उनले त्यो प्रक्रिया जारी नै रहेको बताए ।

नेता नेपालले भने, ‘बाहिर धारे हात लगाउँदा लगाउँदै पनि अनेक किसिमका दूत हामीसँग वार्ता गर्न पठाइरहेका छन् ।’

‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्तै तरल छ । यो तरल अवस्थामा एक दिनमा ५ वटासम्म खबर आउँछन् । ती खबरहरु केही आधिकारिक पनि हुन्छन् त केही गलत पनि हुन्छन्,’ समसामयिक घट्नाहरुप्रति सङ्केत गर्दै अध्यक्ष नेपालले बैठकमा विश्लेषण गरेका थिए ।

‘कामचलाउ प्रधानमन्त्री केपी ओलीले साम, दाम, दण्ड, भेद चारवटै विधि अपनाइरहेका छन् । उनको यो नीति नेकपा नेता कार्यकर्ताका लागि मात्रै होइन, राज्यका हरेक अंग र निकायसँग यस्तै डिल गरिरहेका छन्,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘आज आन्दोलनको पक्षमा उभिएका मानिसहरु पनि भोलि ओली पक्षमा जाने र फेरि पर्सी यता हामीतिरै फर्कने अवस्था विद्यमान रहेको छ ।’

बैठकमा नेता नेपालले वामदेव गौतम पनि आफ्नै समुहमा आउन लागेको संकेत गरेका थिए । संसद संसद विघटन बदर भएपछि यहि समुहमा आफू आउने बचन बाम्सेवले दिएको बताए । उनले भने, ‘अरुको कुरा त के वामदेव गौतमकै कुरा गर्नुस् । उहाँले भन्दै हुनुहुन्थ्यो, प्रतिनिधि सभा बिघटन बदर भएपछि त म यतैको हो नि मेरो नाउ नहटाउनुस् ।’

उनले सर्वोच्चमा भएको बहसमा कुनैपनि अधिवक्ताहरुले प्रतिनिधि सभा विघटनका लागि आधार नभएको भनेर गरेकाले फैसला पनि सोही अनुरुप आउने र त्यसपछि फरक ढंगले अघि बढ्नुपर्ने अवस्था आउनसक्ने भएकाले तयारी अवस्थामा बस्न निर्देशन दिएका थिए ।

नेताहरुले पुस ५ पछि अहिलेसम्मका घट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाएका थिए ।

बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली पक्षसँग ४० प्रतिशत केन्द्रीय सदस्य पनि नभएकाले नयाँ पार्टी बनाउन समेत नसकेको र यसकै लागि विभिन्न प्रलोभनमा आफ्ना नेताहरू टन्न खोजेको बताएका थिए ।