ओलीले भेटे राष्ट्रपति: महाअभियोग र एमाले विवादबारे छलफल
काठमाडौं– सर्वोच्च अदालातले प्रधानमन्त्रीबाट हटाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक शितलनिवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न उनी शितलनिवास पुगेका हुन् । शुक्रबार बिहान ११ बजे शितलनिवास पुगेका ओली करिब १२ बजे त्यहाँबाट निस्किएका थिए ।
राष्ट्रपति भण्डारी र ओलीबीच करिब १ घण्टा कुराकानी भएको बताइएको छ । दुवै जनाबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलाईएको छैन । स्रोतले भने दुई जनाबीच आगामी रणनीति र राष्ट्रपतिमाथि महाअभियोग लाग्न सक्नेबारे छलफल गरेको बताएको छ ।
प्रत्यक्ष चासो राख्दै आएकी राष्ट्रपति र ओलीबीच पार्टी राजनीतिको पछिल्लो विकासक्रमबारे समेत छलफल भएको बर्ताइएको छ ।
एकातिर एमालेको राजनीतिमा देखिएको विवाद अर्कोतिर माधव नेपालले पार्टी विभाजन गर्ने तयारी गरेपछि देखिएको अवस्थाले दुबैजना सशंकित बनेको बताइएको छ ।
केहिदिन यता ओली समुहका धेरै नेताहरूले नेता नेपाललाई समर्थन गरेपछि ओली थप तनावमा देखिएका छन् ।