माधव नेपालमाथि ओलीले बर्साए कारबाहीको डण्डा - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

माधव नेपालमाथि ओलीले बर्साए कारबाहीको डण्डा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र उनी पक्षीय नेताहरूमाथि कारबाहीको डण्डा चलाएका छन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गरी पुरानै पार्टीलाई पुनर्स्थापित गरेपछि ओली पक्षले केन्द्रीय कमिटी बैठक डाकेर आफूलाई असहयोग गरेको भन्दै कारबाही गरिएको छ । नेता नेपाल पक्षले आफूमाथि बारम्बार हमला गरेकाले कारबाही गरेको प्रधानमन्त्री ओलीले बैठकमा बताएका छन् ।

प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएर माधव नेपाल पक्षलाई कारबाही गरेका हुन् । उनले माधव नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेका छन् ।

उनले नेपाल पक्षका प्रदेश इञ्चार्ज हटाएका छन् । प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङले जिम्मेवारी पाएका छन् । प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेश इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदुरपश्चिम प्रदेशमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै उनले एमालेको विदेश विभाग प्रमुखबाट माधवकुमार नेपाललाई हटाएका छन् । प्रधानमन्त्री अ‍ोलीले विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्त गरेका छन् ।

नेता नेपालमाथि पार्टीको गुटगत भेला गर्दै हिँडेको संसद विघटनका बेला असहयोग गरेकोलगायतका आरोप लगाइएको छ ।

‘एमाले ब्यूँतिएपछि पनि उहाँले कुनै सल्लाह गर्नु भएको छैन् । बरु हिजो बानेश्वरमा गुटगत भेला गर्दै हिँड्नु भएकोमा प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्न’, बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

बिहीबार बानेश्वरमा गुटगत भेला गरेर नेपाल पक्षले पार्टीको बैठक बोलाउन र पार्टीलाई विधान अनुसार अघि बढाउन माग गरेको थियो । नेपाल पक्षले केहीदिन अगाडि ओली प्रवृतिको विरोध गर्ने बताएको थियो ।