ओलीले बर्बाद पारे कमरेड, हामी बर्बाद भयौँ: प्रदीप ज्ञवाली - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

ओलीले बर्बाद पारे कमरेड, हामी बर्बाद भयौँ: प्रदीप ज्ञवाली



काठमाडौं- सोमबारसम्म औपचारिक रूपमा कतातर्फ लाग्ने दोमनमा रहेका नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेल मंगलबार सबेरै खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेपछि दिउँसो बबरमहलमा डाकिएको नेकपाको केन्द्रीय कमिटी बैठकमा उनी उपस्थित भए ।

तर,अघिल्लो दिन सोमबार साँझ अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेलको निवास महाराजगञ्जमा गजुरेल भलाकुसारी गरेर बसिरहेको बखत एक्कासी पौडेलको मोबाइलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको फोन आयो । ज्ञवालीले थप केही नभनी ‘म एकैछिनको लागि आउँछु है’ भनेर झ्याप्प फोन राखिदिएको स्रोत बताउँछ । नभन्दै एकाध मिनेटमा पौडेलको निवास महाराजगञ्ज, नागरिक बजारभित्र मन्त्री झण्डा हल्लाउँदै पुगे ।

छिर्नेबित्तिक्कै ज्ञवालीले राजनीतिक घटनाक्रमको बेलिबिस्तार लगाउँदै भने ‘ओलीले बर्बाद पारे कमरेड । उनले स्वयम् आफूलाई समेत कुनै विकल्प बाँकी राखेनन् । बरु उता (खुमलटार) सङ्ग प्रशस्त विकल्पहरू देखिन्छ । हामी साँच्चि नै बरबाद भयौं । अहिले उनलाई साथ नदिने कुरो पनि भएन तर हामी फस्यौं । बाध्यतामा पर्यौं ।’

मन्त्री ज्ञवालीको मुखबाट एकाएक त्यस्तो कुरो सुनेपछि पौडेल र गजुरेल दुबैजनाले अचम्म मान्दै खासै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ । तर, अन्तमा ‘अदालतलगायत सबैतिर प्रधानमन्त्रीले सेटिङ्ग मिलाइसक्नु भएको हुँदा सबै पक्षले प्रधानमन्त्रीको कदमलाई साथ दिने’ दृढतापूर्ण निश्कर्ष सुनाउँदै मन्त्री ज्ञवाली त्यहाँबाट राती सवा सात बजे फर्केको बताइन्छ ।

पौडेल र गजुरेलले भने ज्ञवालीको अप्रत्याशित आगमन मंगलबारको बालुवाटार भेलामा उपस्थित गराउने रणनीतिका साथ फकाउने र मानसिक प्रभाव पार्ने उद्देश्यले भएको रूपमा लिएका थिए। किनकि अघिल्लो रातसम्म दौडादौडमा ब्यस्त रहेका मन्त्री ज्ञवाली भोलिपल्ट मंगलबारदेखि ओली समूहको प्रवक्ता नै बनेको जनआस्थाले लेखेको छ ।