कार्यदलका नेताले गरेको प्रस्ताव ओलीले गरे अस्वीकार
काठमाडौं- एकता जोगाउने भन्दै लागिपरेका एमालेको दोस्रो तहका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवास बालकोट पुगेर गरेको प्रस्ताव अस्विकार गरेका छन् । विघटित कार्यदलका दुवै पक्षका नेताहरूले ओलीसँग आइतबारका लागि डाकिएको स्थायी कमिटी बैठक रोक्न आग्रह गरेका थिए ।
उनीहरूले पार्टी एकताका लागि छलफललाई तीव्र पारिरहेको र सहमति गर्न सकिने धेरै विकल्प भएको बताएर शनिबार साँझ बालकोटमै पुगेर ओलीलाई बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले भने नेताहरूको उक्त प्रस्ताव ठाडै अस्विकार गरेका छन् । ओलीले सधैभरी बैठक रोक्न नसकिने भन्दै नेताहरूको प्रस्ताव अस्वीकार गरेका छन् ।
नेताहरूको प्रस्तावमा ओलीले आफूले एकताको लागि धेरै पटक प्रयास गरेको बताएका थिए । उनले माधव नेपाललाई पनि पटकपटक मौका दिएको बताएका थिए । ओलीले एकता जोगाउने भन्दै सधैभरी कसैलाई पनि कुरेर बस्न नसकिने बताएका थिए । ओलेले नेताहरूले गरेको प्रयासको सकारात्मक भएको तर नेता नेपाल नै त्यसमा सकारात्मक नभएको बताएको स्रोत दाबी गर्छ ।
नेताहरूलाई ओलीले अब अपुष्ट रूपमा होइन यदि एकता गर्नेहो भने सबै छलफल सकेर सहमति गरेर मात्र आउन भनेका छन् । ओलीले नेताहरूलाई छलफल गरेर सहमति निकालेर आउन भनेको बताइएको छ । पार्टीलाई एकतावद्ध बनाउन भन्दै खटिरहेका विघटित कार्यदलका सदस्यहरू ओलीलाई भेट्न उनकै निवासमा शनिबार साँझ पुगेका थिए ।
कार्यदलका सदस्यहरू आइतबार बिहान वरिष्ठ नेता माधव नेपाल निवासमा पुगेर समेत छलफल गर्ने योजनामा छन् । ओलीलाई भेट्न विघटित कार्यदलका १० मध्ये ८ सदस्य बालकोट पुगेका थिए ।