ओलीलाई नेकपा अध्यक्षबाट हटाउन बामदेवको माग, प्रचण्ड एकल अध्यक्ष ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

ओलीलाई नेकपा अध्यक्षबाट हटाउन बामदेवको माग, प्रचण्ड एकल अध्यक्ष !



काठमाडौं । नेकपाका नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् ।

शनिबार बसेको स्थायी समिति बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

त्यसैले अर्का अध्यक्षले पार्टी सञ्चालनमा बढी ध्यान दिने गरी ‘एक व्यक्ति एक जिम्मेवारी’ को अवधारणा लागू गर्नुपर्ने उनले जनाएका छन्।

‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकूलता भएको पाइएन’, गौतमले भनेका छन्, ‘तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रूपमा सरकार सञ्चालन गर्नेतर्फ बढी ध्यान दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रुपमा पार्टी सञ्चालन गर्नेतर्फ बढी ध्यान दिने व्यवस्था गर्ने।’

हाल दुवै अध्यक्षलाई सामानान्तर अधिकार दिइएको छ। बैठक सञ्चालन पनि दुवैको अध्यक्षतामा हुने व्यवस्था छ। दुवै अध्यक्ष नभएका बेला औपचारिक बैठक बस्दैन।

‘कुनै पनि कमिटीको अध्यक्षता गर्न दुबै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने’, गौतमको प्रस्ताव छ,‘अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी लागू गर्ने।’

गौतमले सरकारका गतिविधिका कारण जनतामा निराशा छाउन थालेको विश्लेषण गरेका छन्। पार्टी नेतृत्वमा रहेकाहरुले कार्यकर्ता र जनतामा देखा परेका निराशालाई चिर्दै आशा र उत्साह सिर्जना गर्ने तर्फ कुनै कदम नचालेको गौतमको आरोप छ।

उनले पछिल्लो समय पार्टी छलफलमा समेत नगरी जथाभावी काम गर्ने प्रबृत्ति बढेको उल्लेख गर्दै त्यसकै एउटा उदाहरण हालै भएको एसिया प्यासिफिक सम्मेलनलाई दिएका छन्।

‘भर्खरै नेपाल सरकार संलग्न एउटा अन्तराष्ट्रिय गैरसरकारी धार्मिक संस्था युनिभर्सल पिस फेडरेसशनको आयोजनामा काठमाडौमा एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन भयो। त्यसमा पार्टीका उच्च पदस्थ नेताहरु, नेपाल सरकारसहित प्रदेश र स्थानीय तहका सरकारहरुलाई पनि सामेल गराइयो’, गौतमले भनेका छन्, ‘तर यस किसिमको कार्यक्रममा सरकार र नेताहरुको संलग्नताका निम्ति पार्टीका निर्णय गर्नुपर्ने आवश्यक नै ठानिएन।’