प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने तयारी: नेकपा बैठक बस्दै - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने तयारी: नेकपा बैठक बस्दै



काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्ने तयारी पार्टीले गरेको छ

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओलिबारे निर्णय गर्न लागिएको बताइएको छ । ओली पार्टीले सोधेको प्रष्टिकरण दिएका छैनन् ।

स्पष्टिकरणको जवाफ नआएपछि कारबाहीको तयारी भएको एक नेताले जानकारी दिए ।‘पार्टी गतिविधि विपरितको काम गरेकोले तपाइँलाई कारबाही किन नगर्ने ?’ भन्दै नेकपाले तीन दिनको समयसीमा तोकेर ओलीलाई प्रष्टिकरण सोधेको थियो ।

तर त्यसको जवाफ नआएपछि पार्टीबाटै निष्कासनको तयारी भएको स्रोतले जनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आजको बैठकले संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने जनाए । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

नेकपाले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

शनिबार राति प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत ओलीको असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध छिट्टै अर्को चरणको स‌ंघर्षको कार्यक्रम घोषणा गर्ने जानकारी दिएका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध हाम्रो पार्टीद्वारा राजधानीमा शुक्रबार आयोजित विरोध प्रदर्शन तथा सभा विशाल जनसहभागितासहित भव्यरुपमा सफल भयो । छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ ।’

उनले केपी ओलीसँगको शुरुदेखिको मुख्य मतभेद विधि र पद्धतिको पालनामा रहेको बताउँदै पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पद्धतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनुपर्ने जनाएका छन् ।

‘तब मात्र हामी आफ्नो प्रतिबद्धताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं,’ उनले भनेका छन, ‘हाम्रो काठमाडौँमा शुक्रबार भएको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही बिषयमा हो । जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्वनिर्धारित योजना संघर्ष समितिको जानाकारीविना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैन थियो । संस्थागत कार्य प्रणालीको बारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो ।’

उनले आफूहरुको एउटा मुख्य चुनौती विधि पद्धति अनुसार पार्टी सञ्चालन गर्नु रहेकोसमेत बताएका छन् । आजको बैठकमा यही विषयमा समीक्षा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।