ओलीलाई घेराबन्दी गर्ने रणनीति अनुसार प्रचण्डले गौतमलाई अघि सारे - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ओलीलाई घेराबन्दी गर्ने रणनीति अनुसार प्रचण्डले गौतमलाई अघि सारे



काठमाडौं। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए।

तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्। उनी कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित बनेका थिए। गौतमले यसअघि ०५६ र ०६४ मा पनि निर्वाचनमा हार व्योहोरेका थिए।

निर्वाचन हारेयता गौतमले पुनः सांसद बन्नका लागि झन्डै एक दर्जन प्रयास गरेका छन्। तर उनका प्रयास भने निरन्तर असफल हुँदै गइरहेका छन् । निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया २ कै माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर संसद बन्ने प्रयास गरेका थिए।त्यसका लागि उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साथ लिएर बर्दिया २ मा सांसद बन्ने प्रयास गरेका थिए।

सांसद थारू उनलाई पद छोड्न तयार नभएपछि त्यो प्रयास असफल भएको थियो। त्यसपछि उनले दाहालकै सहयोगमा पूर्वी रुकुममा कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए तर उनको त्यो प्रयास पनि असफल भयो।

ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड

वामदेवले निर्वाचन हारेपछि उनलाई संसद्मा ल्याउन पार्टी अध्यक्ष प्रचण्डले भूमिका खेलिरहेको नेकपा (पूर्व एमाले) का एक नेता दाबी गर्छन्। प्रचण्डले अर्का अध्यक्ष ओलीसँगको आफ्नो बार्गेनिङ बलियो बनाउन सांसद बनाउन लागिपरेको ती नेता बताउँछन्।

‘अहिले अध्यक्ष प्रचण्डको भूमिका सेरोमोनियल मात्र हो, उहाँ आफ्नो भूमिका बढाउन चाहनुहुन्छ, त्यसका लागि वामदेवलाई कार्डका रूपमा प्रयोग गर्न सांसद बनाउन लागिरहनुभएको छ,’ ती नेताले भने। ओलीलाई घेराबन्दी गर्ने रणनीतिअनुसार दाहालले गौतमलाई अघि सारेको ती नेताको दाबी छ। नागरिक दैनिकमा खबर छ ।