ओलीलाई आफ्नै बोली बन्यो गलपासो - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

ओलीलाई आफ्नै बोली बन्यो गलपासो



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफैले बोलेको बोली आफैलाई गलपासो बनेको छ । भाषणमा सधैजसो अर्कालाई घोचपेच गर्ने ओलीलाई यो पटकको बोलीले भने आलोचित बनाएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरीबारे दिएको तथ्यहिन भाषणले ओली चर्को आलोचनाको केन्द्रमा परेका छन् । सामाजिक सञ्जालमा ओलीको चर्को आलोचना भएको छ ।

बाबुराम पुत्री मानुषी यमी भट्टराईले समेत ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन आग्रह गरेकी छन् । साथै उनले राजनीतिलाई हावादारी र मजाकको विषय बनाउन छाड्न पनि भनेकी छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा ‘कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको’ भनेर डा. भट्टराईलाई प्रश्न गरेका थिए ।

त्यसको जवाफमा जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्यसमेत रहेकी मानुषीले ओलीलाई तथ्यसहित अभिव्यक्ति दिन आग्रह गरेकी हुन् ।

मानुषीले फेसबुकमार्फत भनेकी छन्, “पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला । स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा (हिसिला यमी) ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौँ ।”

उनले अगाडि भनेकी छन्, “हामी कुन आम्दानीको स्रोतबाट गएका थियौँ । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौँ भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला । राजनीतिलाई कतिञ्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?”

यसअघि एमाले कर्णाली प्रदेश कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले भनेका थिए- “आफूहरूले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पार्सपोट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेला बढाउनुभयो ? बेलायत बढाउने आम्दानीको स्रोत के थियो ? प्रचण्ड बाँचे १७ हजार मरे । बाबुराम त बाँचे । बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिकता पाउन, पासर्पोट पाउन, सबै चिज पाउन । कसैको पार्सपोर्टबाट जानुभएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताइदिनुस् त ? तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कम्सेकम २/४, पाँच लाख महिनाको खर्च हुन्छ । भूमिगत हुँदा छोराछोरीलाई कहाँको आम्दानीले कसरी पढाउनु भएको थियो ?”