माधव र झलनाथ समुह बिनाको पार्टी बनाउन ओलीलाई आफ्नै समुहको दवाव - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

माधव र झलनाथ समुह बिनाको पार्टी बनाउन ओलीलाई आफ्नै समुहको दवाव



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेबाट कारबाही गरिएका नेताहरूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समुहबाट चर्को दवाव आउन थालेको छ । उनीहरूलाई ओली पक्षले एमालेको नाम नबेच्न र एमालेको नाम नै नलिन भन्दै दवाव दिन थालेका छन् ।

माधव नेपाल समुहका केहि नेताहरूलाई ओली समुहका नेताले अब उप्रान्त ‘एमाले हूँ’ भन्दै नहिँड्न चेतावनी समेत दिएको चर्चा भैरहेको छ । त्यतिमात्र होइन ओली पक्षका केहि नेताहरूले अब माधव र झलनाथ बिनाको एमाले बनाउन तिब्र दवाव दिएका छन् ।

स्रोतका अनसार ओली समुहकै केहि समझदार नेताहरूले ओली तिब्र दवावमा रहेकाले पछिल्लो अवस्था आएको नेपाल निकट नेताहरूलाई बताउने गरेका छन् ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा हुने छलफल हरूमा माधव समुहलाई पनि समेटेर लैजानुपर्ने सल्लाह दिंदा ओली निकट केहि नेताहरू चिच्याउने र झर्किने गरेको समेत बताइन्छ । उनीहरुले अध्यक्ष ओलीलाई अब माधव–झलनाथ बाहेकको एमाले पार्टी बनाउन वकालत गर्ने गरेका छन् ।

‘अब एमालेमा माधव–झलनाथ भन्‍ने व्यक्ति वा गुट केही बाँकी छैन’ दबाब दिन पुगेका एक नेताको भनाई थियो–‘माधव–झलनाथहरु अब माओवादीको पुच्छर बनेर प्रचण्डका कार्यकर्ता हुन गइसके ।’

‘एमालेको नेता हूँ भन्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाईदिनुस भन्‍न राष्ट्रपति कार्यालय र सर्वोच्च अदालत जानेहरु कसरी एमालेमा अट्न सक्छन ?’ सहभागी एक नेताले ओलीलाई सोधे ।

जवाफमा ओलीले प्रतिप्रश्‍न गर्दै भने–‘तपाँईहरुले कस्को कुरा गर्नु भएको ? ती रौतहटका माधवजीको कुरा हो भने उनी एमालेमा छैनन्, कारवाही गरेर निकाल्दिसकेँ ।’ स्रोतले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भन्यो– तपाईं कोही कमरेड सूचनामा कमजोर हुनुहुन्छ भने अपडेट हुनुहोला हामीसँग एमाले पार्टी छ र नेता कार्यकर्ता छन् झगडियाहरु यहाँ होइन,अदालत तिर पो भेटिन्छन् त ।

पार्टी एकताको कुरा गर्न केही साथीहरुलाई भूलभुलैयामा राखेर माधव नेपालले अझै एमालेमा ‘मान’ र स्पेस खोजेको भन्दै सहभागीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत गराएको थियो । जवाफमा प्रधानमन्त्रीले वार्ता कमिटीमा भएका साथीहरुलाई ‘एकपटक सम्झाउनुस, गल्ती महसुस गरेर आउँछन् भने उनीहरुको लागि एमालेमा ठाउँ हुन सक्छ । तर,आएपछि फेरि वितण्डा मच्चाउने र एमाले भत्काउनेलाई चाहिँ कुनै छुट हुँदैन भनिदिनुस् ।’ भनेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवासमा धर्ना बसेरै एमालेबाट माधव–भलनाथ पक्षलाई आउट गर्न मुख्य भूमिका खेल्नेमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, पूर्वमन्त्री गोकुल बाँस्कोटा,महेश बस्नेत, प्रधानमन्त्रीका राजनितीक सल्लाहकार विष्णु रिमाललगायत रहेको स्रोतको भनाई छ ।

अर्थमन्त्री विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ चाहिँ केही साथीहरुलाई तान्‍न सकिन्छ भने तानौं भन्‍नेमा देखिन्थे ।