प्रमाण ल्याउन केपी ओलीलाई शम्भु थापाको चुनौती
काठमाडौँ — वरिष्ठ अधिवक्ता शम्भु थापाले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परमादेशको फैसलामा संलग्न चार न्यायाधीश भ्रष्टाचारमा लिप्त भएको प्रमाण पेस गर्न चुनौती दिएका छन् । नेता ओलीले प्रधानन्यायाधीशसँगै असार २८ गते प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्ने बाँकी चार न्यायाधीशको पनि राजीनामा मागेका थिए ।
ओलीको उक्त तर्कको खण्डन गर्दै वरिष्ठ अधिवक्ता थापाले उनीहरूको भ्रष्टाचारको प्रमाण जुटाउन चुनौती दिएका हुन् । ओलीलाई परमादेशबारे नभई न्यायालयको विकृतिबारे बोल्न पनि थापाले सुझाव दिएका छन् ।
‘परमादेश दिए त्यसकारण राजीनामा ! के भन्या त्यो ? तपाइँले नै संसद् चाहिँदैन भन्नुभयो । संसद् चाहिँदैन भनेपछि तपाइँ नै प्रधानमन्त्रीको रूपमा रहनुभएन त हामी के गरौं ?’ वरिष्ठ अधिवक्ता थापाले ओलीलाई लक्षित गर्दै सोधेका छन् ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै जारी नेपाल बार एसोसिएसनको आन्दोलनबाट वरिष्ठ अधिवक्ता थापाले यस्तो बताएका हुन् ।
ओली आफ्नै कारण प्रधानमन्त्रीबाट पदमुक्त भएको भन्दै थापाले भ्रष्टाचार, विकृति र विसंगतिको विषयलाई लिएर प्रधानन्यायाधीशको राजीनामा मागिएको अवस्थामा परमादेश नजोड्न सुझाव दिए ।
‘ओलीले संसद् चाहिएन भने अनि अदालतले प्रधानमन्त्री पनि नबस्नुस् भनिदियो । यो धेरै केही कुरा भनेको त होइन । तर, उहाँले नै संसद् चाहिँदैन भनेको हो । यो राजनीतिक कुरा हामी छुँदैनौं,’ थापाले भने, ‘पाँचजनाको राजीनामा माग्ने ? भन्नुस् चार जना पनि घुसमा लिप्त छन् । आज कुरा गरौं न त । न्यायाधीशहरू दीपककुमार कार्की, मीरामैया खड्का, आनन्दमोहन भट्टराई र इश्वरप्रसाद खतिवडा चारजना पनि छन् भन्ने प्रमाण ल्याउनुस् न त ।’
राजनीतिक दलका शीर्ष नेताहरूलाई न्यायालयको विवादबारे बोल्न पनि वरिष्ठ अधिवक्ता थापाले आग्रह गरेका छन् । आफूहरूले न्यायालय सुद्धिकरणका लागि अभियान चलेको र त्यसको बाधक प्रधानन्यायाधीश रहेको थापाको भनाइ थियो ।
प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म अभियान नरोकिने उनले चेतावनी दिए । ‘हाम्रो अभधियान भ्रष्टाचार विरुद्धमा छ । हाम्रो अभियान नातागोता विरुद्धमा छ,’ उनले भने ।