निर्णय फिर्ता लिन ओलीलाई चेतावनी दिँदै स्वास्थ्यविदले निकाले संयुक्त विज्ञप्ति
काठमाडौं- जनस्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी कात्तिक २६ र मंसिर ३ गते घोषणा गरिएको निर्वाचन फिर्ता लिन आग्रह गरेका छन् । ९ जना स्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी महामारीका बेला निर्वाचन गरिए त्यसले नागरिकको जीवन जोखिममा पार्ने बताएका हुन् ।
‘घोषित निर्वाचनमा देशमा भएको सिमित श्रोतको ठूलो अँश खर्च हुने र कोभिडमा आवश्यक पर्ने श्रोतमा कटौति भएर नागरिकले कोभिडको सेवाबाट बन्चित हुनु पर्नेछ र असिम पिडा भोग्न बाध्य हुनु पर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो भन्दा अझ गम्भीर, निर्वाचनको लामो प्रकृया आफैँ कोभिड सँक्रमणको माध्यम बनेर महामारीको भयाबह स्थिति बन्न सक्ने जोखिमको कारण पनि बन्न सक्दछ ।’
यस्तो कार्य क्षम्य हुन नसक्ने विज्ञप्तिमा जनाइएको छ । ‘यो क्षेम्य हुदैन र हामी जनस्वास्थ्यकर्मीहरु यो छुट कदापी दिन सक्दैनौँ । त्यसैले, यो महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिेएको मध्याबधि निर्बाचनको घोषणा अबिलम्ब फिर्ता लिन हामी माग गर्दछौँ र नागरिकको स्वास्थ्य शूरक्षाप्रति सम्बेदनशील बन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रि राज पाण्डे, डा. सुजन बाबु मरहठ्ठा, डा. अरुणा उप्रेति, डा. समीरमणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बि. सी. र डा. कृष्णमान शाक्यले संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गरेका हुन् ।
हेर्नुस् विज्ञप्ति :
सरकारले घोषणा गरेको सँघिय सभाको मध्याबधि निर्बाचनको विरुद्ध जन स्वास्थ्य कर्मीहरुको
विज्ञप्ति
जेठ ९, २०७८
देश कोभिड् १९ को महामारीको दोश्रो लहरबाट अक्रान्त भैरहेको बेला प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको सँघिय सभाको बिगठन र मध्याबधि निर्बाचनको घोषणाले हामी जन स्वास्थ्य कर्मीहरु चिन्तित र मर्माहित भएका छौँ । अस्पतालको शैया नपाएर कोभिड्का बिरामीहरु छट्पटाइरहेको बेला, आवश्यक औषधि र अक्सिजन् नभएर स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा गर्दै पनि अस्पतालको शैयामा बिरामीहरुले ज्यान गुमाउनु परेको यो मार्मिक घडीमा जनताको जीबन रक्षामा केन्द्रित हुनुको सट्टा मध्याबधि निर्बाचनको घोषणा गर्नु नागरिकको जीबनप्रति सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण हो । कोभिड् १९ को महामारीले स्वास्थ्यमा भएको सङ्कटपूर्ण स्थितिलाई स्विकार गर्नु र अर्कोतिर निर्बाचनको घोषणा गर्नु आफैमा बिरोधाभासपूर्ण छ ।
घोषित निर्बाचनमा देशमा भएको सिमित श्रोतको ठूलो अँश खर्च हुने र कोभिड्मा आवश्यक पर्ने श्रोतमा कटौति भएर नागरिकले कोभिडको सेवाबाट बन्चित हुनु पर्नेछ र असिम पिडा भोग्न बाध्य हुनु पर्नेछ । त्यो भन्दा अझ गम्भीर, निर्बाचनको लामो प्रकृया आफै कोभिड् सँक्रमणको माध्यम बनेर महामारीको भयाबह स्थिति बन्न सक्ने जोखिमको कारण पनि बन्न सक्दछ । यस्तो भएको अन्य देशहरुको उदाहरण हाम्रो अगाडि छ । यो क्षेम्य हुदैन र हामी जनस्वास्थ्यकर्मीहरु यो छुट कदापी दिन सक्दैनौ । त्यसैले, यो महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिेएको मध्याबधि निर्बाचनको घोषणा अबिलम्ब फिर्ता लिन हामी माग गर्दछौँ र नागरिकको स्वास्थ्य शूरक्षाप्रति सम्बेदनशील बन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछौँ ।
डा. शरद वन्त
डा. महेश मास्के
डा. बद्रि राज पाण्डे
डा. सुजन बाबु मरहठ्ठा
डा. अरुणा उप्रेति
डा. समीर मणि दीक्षित
डा. बिन्ज्वला श्रेष्ठ
डा. राजेन्द्र बि. सी.
डा. कृष्णमान शाक्य