वामदेवले भने: ओलीको योजना सफल हुन नदिन नयाँ प्रस्ताव ल्याएँ - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

वामदेवले भने: ओलीको योजना सफल हुन नदिन नयाँ प्रस्ताव ल्याएँ



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको योजना सफल हुन नदिन उपाध्यक्ष वामदेव गौतमले नयाँ प्रस्ताव गरेको बताएका छन् ।

प्रधानमन्त्री आफैले पार्टी फुटाउन लागिपरेकाले त्यसलाई असफल पार्न मात्रै प्रधानमन्त्री र अध्यक्षमा उनलाई निरन्तरता दिने प्रस्ताव आफूले ल्याएको गौतमले बताएका हुन्।

पार्टीको विवाद उत्कर्षमा रहेका बेला गौतमले मंगलबार ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र पूरा कार्यकाल प्रधानमन्त्री चलाउन दिनुपर्नेसहितको ६ बुँदे प्रस्ताव अघि सारेका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा मंगलबार दिउँसो बसेको बैठकमा गौतमले ओली सरकार र पार्टी सञ्चालन गर्न पूर्ण असफल भएको बताए।

‘केपी ओली पार्टी चलाउने कुरामा पूर्ण रुपमा असफल हुनुभयो,’ गौतमको भनाइ उधृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘अध्यक्ष प्रचण्डलाई पार्टी सञ्चालनको सम्पूर्ण कार्यकारी अधिकार दिनेगरी उहाँलाई प्रधानमन्त्रीमा कायम राखौं, मैले यो कुरा ओलीलाई भेटेर पनि भनेको छु, बाहिर सार्वजनिक रुपमा पनि भनिसकेँ।’

गौतमले प्रधानमन्त्री ओली आफैँ पार्टी फुटाउन सक्रिय रहेकोले त्यसलाई रोक्न पनि दुवै पदबाट हटाउन नहुने आफ्नो प्रस्ताव रहेको बताए।

ओलीलाई सेरेमोनियल अध्यक्षमात्र रहनेगरी प्रधानमन्त्रीमा कायम राखे पार्टी तत्काल फुटबाट जोगिने उनको धारणा छ।

‘नेकपा विभाजन गर्ने उहाँको योजनालाई हामीले सफल हुन दिनुहुन्न, फुटबाट जोगाउनुपर्छ,’ गौतमले भने।

बैठकमा लामो समय बोलेका गौतम आफ्ना कुरा राखेपछि काम छ भन्दै बाहिरिएका थिए।

यसअघि उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद अन्त्य गर्न भन्दै अघि सारेको ६ बुँदे प्रस्तावलाई ओली पक्षहरुले तीव्र रुपमा प्रचार गरेका छन्।