प्रचण्ड र माधव नेपालकै कारण टाउको दुख्यो ओलीको - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

प्रचण्ड र माधव नेपालकै कारण टाउको दुख्यो ओलीको



काठमाडौं । नेकपाका शक्तिशाली नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण केही दिनलाई रोकिएको छ । तर, पार्टीका अर्का बलिया नेता माधवकुमार नेपाल भने अमेरिका भ्रमणमा छन् । दाहाल र नेपालको विदेश भ्रमणबाट प्रधानमन्त्री केपी ओली भने चिन्तित रहेको बताइएको छ ।

‘प्रचण्डको भ्रमण अनौठो तरिकाले तय भएको थियो’, प्रधानमन्त्री ओली निकट एक नेताले बताए । उनका अनुसार प्रचण्ड भारत भ्रमणमा जाने समाचार सुनेपछि ओलीको सचिवालयले समाचारको तथ्य खोजेको थियो । स्रोत अनुसार, प्रचण्डको सचिवालयका सदस्यहरुलाई सोधखोज गरेर पुष्टि गरेपछि ओलीलाई समाचार सुनाइएको थियो ।

अर्थात्, प्रचण्ड भारत जाने प्रधानमन्त्री ओलीलाई थाहै थिएन । भ्रमण तय भएपछि मात्र ओलीले थाहा पाए । यसकारण ओली चिन्तित भए ।

ओलीको अर्काे चिन्ताको विषय हो माधव नेपालको भ्रमण । माधव नेपाल अमेरिकामा नेपालीहरुको संस्थाले आयोजना गर्ने कार्यक्रममा भाग लिन गएका हुन् । भ्रमणको अनुमति नेपालले पार्टीबाट लिएका थिए । तर, प्रचण्डले भ्रमणको अनुमति पार्टीबाट लिएका थिएनन् ।

‘विदेश भ्रमण गर्दा पार्टीबाट औपचारिक अनुमति लिनुपर्छ भन्ने सुझाव प्रचण्डलाई दिइएको छ’, ओली निकट स्रोतले भन्यो । तर, प्रचण्डले अनुमति नलिँदै भ्रमण स्थगित भएको छ ।

प्रचण्डको भ्रमण भदौ २२ बाट हुनेवाला थियो । प्रचण्डले उत्तर कोरियाको भ्रमण निम्ता आएको जानकारी पार्टी सचिवालयलाई गराएको तर भारत भ्रमणको निम्ताको जानकारी गराएका थिएनन् । उनलाई उत्तर कोरिया भ्रमण नगर्न नेताहरुले सुझाव दिएका थिए । र, उनी गएनन् पनि । तर, भारत भ्रमणबारे औपचारिक जानकारी नगराउनुलाई अनौठो मानिएको छ ।

प्रचण्डको भ्रमण के कारणले स्थगित भएको भन्ने खुलाइएको छैन । हिन्दूस्तान टाइम्स पत्रिकाले आयोजना गर्ने कार्यक्रममा प्रचण्ड भारत जाने भएका थिए । ‘अहिले भ्रमण स्थगित भए पनि केही समयपछि उहाँको भ्रमण हुनेछ,’ प्रचण्ड निकट एक नेताले बताए ।

यसैबीच प्राप्त जानकारी अनुसार प्रचण्डलाई भारत भ्रमण गराएपछि माधव नेपाललाई पनि बोलाइँदैछ । यो खबर प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेको छ । नेपाली सत्ता संरचनाका प्रमुख हस्ती प्रचण्ड र माधव नेपाललाई पालैपिलो भारत बोलाइनुलाई प्रधानमन्त्री ओली निकटहरुले सहज रुपमा लिएका छैनन् ।

प्रचण्डले चीन भ्रमण पनि गर्ने बताइएको छ । असोज एकबाट प्रचण्डको चीन भ्रमण हुने भनिएको छ । भारत भ्रमण स्थगित गरिएपछि चीन भ्रमण स्थगित हुन्छ कि हुँदैन भन्ने उत्सुकता छाएको छ ।

विगतमा प्रमुख नेताहरुको भारत र चीन भ्रमण सत्ताको खेलको एक हिस्सा हुने गरेको थियो । प्रचण्ड र माधवको भ्रमण सत्ताको खेलको अंश हो कि भन्ने चिन्ता ओलीको सेरोफेरोमा छाएको प्रष्ट देखिन थालेको छ ।