प्रधानमन्त्री ओलीको सिद्धान्त: सत्यसँग लड्दिन, शक्तिसँग झुक्दिन
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा अोलीले आफू सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको बताएका छन् ।
बिहीबार सर्वोच्च अदालतमा आफूविरुद्ध परेको अवहेलना मुद्दाको लिखित जवाफमा प्रधानमन्त्री अोलीले आफू १४ वर्ष जेल बसेको बताउँदै विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायापालिका, मानव अधिकार र समतामुलक समाजको पक्षमा रहेको बताएका छन्।
‘म सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु ’, उनले भनेका छन्, ‘म पदमा हुँदा वा नहुँदा न्यायापालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा दृढताका साथ उभिई रहेको छु र हरनेछु ।’
उनले आफूले अदालतको अवहेलना हुने गरेर कुनै अभिव्यक्ति नदिएको र प्रधानमन्त्री जस्तो व्यक्तिबाट अदालतको अवहेलना हुने कार्य भएको भनी दायर भएको निदवेदन नै अनुचित र पूर्वाग्रहपूर्ण रहेको बताएका छन् ।
उनले संविधानको धारा १२८ को उपधारा (४) बमोजिम न्याय सम्पादनमा अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा मात्र अदालतबाट अवहेलनाको कारबाही हुने दाबी गरेका छन् । उनले आफूले बोलेका वाक्यलाई मनपरी ढंगले बीचबीचबाट निकालेर सार्वजनिक गरिएको बताए । प्रधानमन्त्री अोलीले आफूले कुनै पनि कानून व्यवसायीप्रति कुनै लाञ्छना नलगाएको बताउँदै आफूले मुद्दा जित्छु भन्न पाइने बताएका छन् ।
‘मलाई विपक्षी बनाई दायर भएका मुद्दामा लिखित जवाफ प्रस्तुतकर्ताले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वभाविक मानिन्छ’, उनले भनेका छन् ।