ओलीको साथ छोड्ने लेखराज भट्टको संकेत
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्री केपी ओलीको साथ छोड्ने संकेत गरेका छन् । केहि मन्त्रीहरूले ओलीको साथ छोड्ने हल्ला चलिरहेका बेला उनले यस्तो संकेत गरेका हुन् ।
मन्त्री भट्टले प्रधानमन्त्री ओलीले पनि प्रचण्डको जस्तै ब्यबहार गरे उनलाई छोड्न कुनै आइतबार नचाहिने बताए । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा सामन्ती प्रवृति हाबी भएकोले साथ छोडेको र त्यो प्रवृति ओलीमा देखिए ओलीलाई छोड्न आइतबार नचाहिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीको पक्षमा पछिल्लो समय खरो रूपमा उत्रिएका मन्त्री भट्ट ओलीप्रति असन्तुष्ट देखिन्थे ।
पूर्वजनमुक्ति सेना नेपालको केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले प्रचण्डलाई लालगद्दारको संज्ञा दिए । उनले प्रचण्डले सडकमा तमासा देखाइरहेको समेत बताए ।
वर्षौदेखि प्रचण्डकै पछिपछि लागेर मुलुकका लागि भन्दै युद्ध लडेको स्मरण गर्दै उनले भने,”युद्धका क्रममा कैयौँले ज्यान गुमाए । तर, यो युद्धको नेतृत्व गर्ने प्रचण्ड अहिले त्यो सबै बिर्सेर सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो ।”
भट्टले पूर्वमाओवादीमा छलफल नै नगरी प्रचण्डले पदकै लोभमा पार्टी एकता गरेकोसमेत बताए । उनले थपे, “अहिले पद र शक्ति नपाएपछि पुनः विरोध सुरु गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्यो । यो प्रवृत्ति केपी ओलीमा देखिँदैन भन्ने विश्वास छ । यदि त्यस्तो भए उहाँको साथ छाड्न कुनै आइतबार चाहिन्नँ ।”
प्रचण्डले पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएकोसमेत भट्टले बताए । पछिल्लो समय ओली समूहले विस्तार गरेका संगठनहरुमा एकलौटी निर्णय गरेको भन्दै पूर्वमाओवादीबाट ओली समूहमा लागेका नेताहरु असन्तुष्ट छन् ।