बालुवाटार जानुअघि ओलीको सर्त: माधव नेपाललाई बोलाएको भए आउँदिन
काठमाडौँ- सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन परमादेश दिएपछि २९ असारमा बालुवाटार छाडेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आइतबार दिउँसो बालुवाटार पुगेका छन् ।
उनी प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटका लागि बालुवाटार पुगेका हुन् ।
यसअघि बारम्बार देउवाले ओलीलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । तर, उनी गएका थिएनन् । उनी बालुवाटार सर्वदलीय बैठकमा समेत गएनन् । बारम्बार बालुवाटारमा नआएपछि पुसको अन्तिम साता देउवा आफैं ओलीनिवास बालकोट पुगेका थिए ।
२४ पुसको त्यो बालकोटको भेटमा ओली र देउवाबीच सभामुख हटाउनु पर्ने विषयमा छलफल भएको थियो ।
नेकपा एमालेले असंवैधानिक काम गरेको भन्दै लामो समयदेखि सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनु पर्ने माग राख्दै संसदसमेत अवरोध गर्दै आएको छ ।
आइतबार नै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे देउवा र प्रचण्डले लेखेको चिठी सार्वजनिक भए पछि यसले ठूलो तरंग सिर्जना गरेको छ । यो तरंग सिर्जना भएसँगै देउवा, प्रचण्ड र ओलीको यो भेटलाई निकै चासोका साथ हेरिएको छ ।
देउवाले आज मात्रै ओलीलाई टेलिफोनमा बालुवाटार आउन निम्तो दिएका थिए । उनले समसामयिक विषयमा कुराकानी गर्नका लागि बोलाएका थिए ।
देउवाको यो निम्तो मान्न ओली तयार भए । तर, उनले देउवालाई एउटा सर्त राखे– यो छलफलमा माधवकुमार नेपाल सहभागी हुनुहुन्न । २९ असारको सर्वोच्चको फैसला आएपछि नेकपा एमालेले अहिलेसम्म माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादीलाई वैध मानेको छैन ।
यसअघि चितवनमा महाधिवेशन गर्दा पनि नेकपा एमालेले अरु दललाई निम्तो गर्दा नेपाल नेतृत्वको दललाई निम्तोसमेत गरेको थिएन । ओलीको यो सर्तलाई देउवाले स्वीकार गरेपछि उनी बालुवाटार जान तयार रहेको एक नेताले बताए ।