महाधिवेशन स्थलबाट ओलीका तीन सन्देश - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

महाधिवेशन स्थलबाट ओलीका तीन सन्देश



काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले लाखौँ कार्यकर्ताका बीचमा महाधिवेशनको उद्घाटन गरेका छन् ।

करिब दुई महिनाअघि विधान महाधिवेशन गराएका ओलीले यतिबेला पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनस्थलको चयन भने चितवननै गरेका छन् ।

उद्घाटन समारोहमा ओलीले आफू सरकारमा हुँदा गरेको उपलव्धिको चर्चादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत गाली गर्न भ्याए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथि बनाएर बोलाएकाले टिप्पणी नगर्ने भन्दै माधवकुमार नेपाल र प्रचण्डले काम गर्न खुट्टा समाउने तर्क गरेका छन् ।

यस्तै उनले जल, समुद्र तथा अन्तरिक्षमासमेत नेपालको दाबी रहने भन्दै अब नेपालमा स्याटलाइटको माध्यमबाट काम हुने उल्लेख गरे । साथै छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार गर्ने भन्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने काम एमालेले मात्र गर्न सक्नेब बताए ।

अन्तरिक्षका गफ

उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अन्तरिक्ष नेपालको भएको उल्लेख गरे । उनले जापानको सहयोगमा पठाइएको नानो स्टलाइटको उपलव्धितर्फ संकेत गर्दै साना भुउपग्रह यसअघि नै पठाइसकिएको भन्दै उनले अब ठूलो भुउपग्रह पठाउने बताए । ओलीले अब देशका कामहरु स्याटलाइटको माध्यमबाट पनि हुने बताए । “समुद्रमा सानो भुउपग्रह पठाइसक्यो, अब ठूलो पठाउँछौं, अब अन्तरिक्ष पनि हाम्रो हो, दाबी गर्छौँ,” उनले भने ।

आफ्नो सरकारले अन्तरक्षिमा ठाउँ सुरक्षित गरेको पनि बताए । “समुन्द्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो,” उनले भने ।

हसिया हथौडा छाड्न प्रचण्डलाई सुझाव

उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हसिया हथौडा छोड्न सुझाव दिए ।

उनले हसिया हथौडा बोकेर बामपन्थी सरकार ढाल्नेले हसिया हथौडा बोक्न उचित नहुने बताए ।

उनले दशौँ हजार माओवादी लडाकुहरुलाई महाधिवेशन पश्चात् पार्टीमा प्रवेश गराउने बताए । ओलीले प्रचण्ड सरकारमा हुँदा पनि शान्ति प्रकृया किन टुंगो लगाउन नसकेको भन्दै प्रश्न गरे ।

एकल बहुमत

अध्यक्ष ओलीले पार्टी तीन तहको चुनावको तयारीमा लागेको बताएका छन् । उनले आसन्न चुनावबाट देशका लागि र देश बनाउनका लागि एकल बहुमत ल्याउने बताए । उनले आफूले गरेको संसद विघटन गरेको सहि भएको तथ्य पनि प्रस्तुत गरे । अध्यादेश, परमादेशबाट सरकार फेरिने अस्वस्थ असंवैधानिक संस्कार बसेको भन्दै उनले आफूहरुले जनादेशमा जान आग्रह गर्दा अरु राजनीतिक दल त्रसित भएको बताए ।

कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा काम गर्न चाहे पनि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र समाजवादी पार्टीले काम गर्न नदिने दाबी गरे ।

यो भनिरहँदा देउवा मञ्चमै थिए । सरकारलाई परमादेशको सरकार भन्दै आलेचना गरेका ओलीले प्रधानमन्त्रीका विषयमा भने अतिथि बनाएर आलोचना गर्नु बान्छनीय नहुने बताए । “प्रधानमन्त्रीलाई अतिथि बनाएर आलोचना गर्नु बाञ्छनीय नहोला,” ओलीले भने, “प्रधानमन्त्री केही गर्न चाहनुहुन्थ्यो सायद ! तर, उहाँसँग भएकाहरुले काम गर्न दिँदैनन् ।”

प्रचण्ड र माधव नेपालतर्फ लक्षित गर्दै उनले एमालेको सरकारलाई काम गर्न नदिएका उनीहरुले प्रधानमन्त्री देउवालाई पनि काम गर्न नदिने बताए ।

अध्यक्ष ओलीले ओलीले छिमेकी देश भारतसँग संवाद गरेर सम्बन्ध सुधार गर्ने घोषणा गरे । उनले छिमेकी देश भारतसँग सम्बन्ध विग्रिएको संकेत गर्दै त्यसलाई संवादको माध्यमबाट हल गर्ने बताए ।

लिम्पियाधुरा लिपुलेकलगायत भारतले मिचेको नेपालको भूमि बनाएर नक्सा छापेको र त्यसलाई संविधानमा पनि छापेको भन्दै छिमेकी मुलुकसँग सम्बन्ध विग्रिएको तर्फ उनको संकेत थियो ।