‘भारतीय दलाल होसियार’ भन्दै कैलालीमा ओलीको समर्थनमा प्रदर्शन

विशाल पाण्डेय/कैलाली –
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले कैलालीमा प्रदर्शन गरेका छन् । आइतबार साझ युवाहरुले घोडाघोडी नगरपालिका -१ सुखडमा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रदर्शन गरेका हुन् ।

ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै सुखड चोकमा प्रदर्शन गरिएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य सनेश शाहीले बताए ।
प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘भारतीय दलाल होसियार’ ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा संघका नेता सहभागी थिए । यस अघि बिभिन्न ठाउँमा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरीरहेका छन् ।

