राजावादीसँग तालमेल गर्न थाले, यही हो ओलीको असली रुप : प्रचण्ड - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

राजावादीसँग तालमेल गर्न थाले, यही हो ओलीको असली रुप : प्रचण्ड



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमल थापासँग गरेको तालमेलको विषयमा कडा आलोचना गरेका छन्।

माओवादी केन्द्रको पूर्वी नवलपरासी समितिद्वारा दलदलेमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओली राजावादीसँग मिलेको आरोप लगाउँदै आलोचना गरेका हुन्।

अध्यक्ष प्रचण्डले भने, ‘ओलीको असली रूप देखिहाल्नुभयो, राजावादीसँग मिलिसके। इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन्।’

एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गर्ने सहमति चैत ३० गरेको छ। तर कमल थापाले राजतन्त्रको एजेन्डा छाडेको र हिन्दु राज्य स्थापनाका लागि आफूले पहल गर्ने बताइसकेका छन्।

अबको चुनावमा ओलीको हालत खराब हुने दाबी गर्दै प्रचण्डले महानगर र उपमहानगरमा आफ्नो पार्टीलाई फाइदा हुने गरी आइतबार सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने बताएका छन्।

‘हामीले निर्णय गर्छौं ढुक्क हुनुस्, हामीलाई फाइदा हुने गरी भोलि नै केन्द्रमा गठबन्धनको निर्णय आउँछ’, उनले भने, ‘अरु तलतलका पालिकामा सबैलाई फाइदा हुन्छ। त्यसमा तपाइँहरु ढुक्क हुनुहोस्।’

स्थानीय तहको निर्वाचनमा मात्र नभएर यसपछि हुने प्रदेश र संघीय चुनावमा पनि सत्ता गठबन्धन मिलेर जाने प्रचण्डको दाबी छ।