प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवाद भित्र मोदीको छाँया। - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवाद भित्र मोदीको छाँया।



कर्ण अधिकारी।

आजकल सामाजिक सञ्जाल र अनलाइन पोर्टलहरूमा नाकाबन्दी धारी भारतीय प्रम नरेन्द्र मोदीको नेपाल भ्रमण र त्यस भ्रमणलाई सफल पार्नका लागि कम्मर कसेरै लागेका नेपाल सरकार र तीनका मातहातका कर्मचारीहरूका बारेमा खुबै चर्चा परीचर्चा चलाईदै आएका छन्।खैर जे जस्तो भए पनि विगतका तिता मिठा कुराहरूलाई भुलेर नरेन्द्र मोदीको सम्मानका लागि राष्ट्रबादीको ट्याग भिरेर नेपाली जनताको मन मस्तिष्कमा बस्न सफल भएका प्रम ओली कम्मर कसेरै लागि परेको देख्दा चाहिँ मुखमा राम राम बगलीमा छुरा भन्ने कुराको याद आयो।२०७२ सालमा भारतले अर्थात् नरेन्द्र मोदीले लगाएको ६ महिना भन्दा लामो नाकाबन्दी झेलेका नेपाली जनताको मनमा जहिले पनि भारत र त्यसका शासक नरेन्द्र मोदीको नेगटिभ चित्रण झलझली आँखा वरी परी घुमि रहेको छ।

नाका बन्दीको समयमा भारत सामु घुँडा टेक्दिन भन्दै नेपाली जनतालाई किलोको हिसाबले दाउरा उपलब्ध गराई चुलो बाल्न मद्दत पुराएका ओली रातारात हिट हुँदा चाहिँ यिनी साँच्चै राष्ट्रबादी नेता हुन की भन्ने आभास गरे नेपाली जनताले तर जुन विश्वास थियो त्यो विश्वासलाई क्रमबद्ध तवरबाट भत्काउने कार्यको थालनी भएको छ।भारत बिना नेपालको कुनै पनि उपाय छैन भनी रहँदा नाटकीय मञ्चन गरेर चीनसँग मित्रताको हात अगाडी बढाएको ओली र ओली सरकार आजका दिन भारत परक भई दिँदा नेपाली जनतालाई मन दुखाउने काम गरेका छन्।भारत सरकार सामु सम्झौताको नाममा विभिन्न नदी नाला सुम्पने कार्य देखि सप्त कोसीमा अझै अग्लो बनाएर बाध बाँध्न दिने कुरा गरिएको छ।पेट्रोलियम पदार्थका विषयमा विगतमा चीन सँग कुरा अगाडी बढाई कागजी प्रक्रियामा सहज बनाए पनि हाल आएर भारतबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउनु पर्ने भनी सहमति सम्म गर्न भ्याई सकेको छ।

भारत छिमेकी अनि मित्र राष्ट्र भए पनि भारतले कहिले पनि नेपाल माथि मित्रबत व्यवहार गरेन।सधैँ भरी सिमाना मिच्ने देखि लिएर सिमानाका जनताहरूलाई दु:ख दिने,विकास निर्माण आफै गरी दिन्छु भन्ने र बर्षौ सम्म काम नगरी दिने साथै अरूलाई पनि गर्न नदिने।चीन,जापानले सडक निर्माण देखि जल बिधुतमा लगानी गर्छु भन्दा पनि गर्न नदिने रणनीति विगत देखि नै चल्दै आएको छ।चीनले केरूङ देखि लुम्बिनी सम्म रेल मार्ग बनाई दिन्छु भन्दा भारतले पनि दिल्ली देखि काठमाडौँ सम्म रेल मार्ग बनाई दिन्छु भन्छ तर त्यो केवल नेपाल र नेपालीलाई बेबकुफ बनाउने रणनीति रचेको हो भारतले।भारत आफ्नै देशमा त नयाँ रेल हाल्न नसकेर त्यही ब्रिटिसले हाली दिएको रेलमा बर्षौ बिताई रहेको छ भने यिनीहरूबाट नेपाल र नेपालीले आशा राख्नु बेकार छ।भारतले भूकम्प गए पश्चात् दिन्छु भनेको सहयोग अझै दिएको छैन।

सार्वभौम सम्पन्न राष्ट्रको आफ्नै परराष्ट्र नीति मूल्य र मान्यता रहेको हुन्छ यही नेपालको मूल्य र मान्यतालाई लात हान्दै विगतका वर्षहरू देखि नै भारतले आफ्नो दबदबा कायमै राखी रहेको छ।मोदीको भ्रमण हुनु भन्दा १० दिन अगाडी देखि नै भारतीय सेनाको हेली नेपालको आकाशमा चक्कर मार्नु,जनकपुर देखि मुक्तिनाथ सम्म भारतीय सेनाको चहल पहल बढ्नु राम्रो कुरा होइन।यस्ता कुराहरूमा नेपाल सरकार किन मौन?के सार्वभौम सम्पन्न राष्ट्र माथि भारतले यस्तो हस्तक्षेप गर्न मिल्छ?

नेपाल सरकार गठन प्रक्रिया देखि सरकार चलाउन सबै भारतको खेल रहेको हामी पाउँदछौ तसर्थ नेपाली जनताले आआफ्नै तर्फबाट सरकार चलाउनेहरूलाई दबाब दिन जरुरी छ।प्रधान मन्त्री भए पश्चात् २ पटक भारत सरकारको निमन्त्रणामा रातो कार्पेट चढ्ने प्रम केपी ओली नै हुन।उहाँले ७४ सालको प्रदेश र प्रतिनिधि सभा चुनावमा जुन घोषणा पत्र लिएर जानु भएको थियो आज त्यही घोषणा पत्र विपरीत काम कार्बाही भई रहेको छ।केपी ओली राष्ट्रबादी नेता होइन भन्ने कुरा यी अवस्थाबाट नै थाहा हुन्छ।

अझै नाकाबन्दी पनि यिनी र मोदीको सहमतिमै भएको हो की भन्ने कुराको अडकल गर्दैछन नेपाली जनता।कञ्चनपुर,कैलाली र झापामा सिमाना मिचिँदा सरकारले कुनै प्रतिक्रिया नदिनु,मोदीको नेपाल भ्रमण तय गरी दिनु,महिनामा २ पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरी दिनु जनताको दैनिक उपभोग्य बस्तुहरूलाई सहज र सरल तवरबाट उपलब्ध गराई दिनुको साटोमा दिन रातै रेल रेल भन्दै भाषण बाजी गर्नुले पनि प्रम ओलीको लोक प्रियता घट्दै गई रहेको छ।नेपाली जनता कुरा भन्दा पनि काम चाहन्छन तसर्थ नेपाल सरकारले कामलाई पहिलो प्राथमिकता दिनु पर्दछ।