राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले ओलीकै बेइज्जत गरे ! - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले ओलीकै बेइज्जत गरे !



सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गरी विद्यार्थी आकर्षण गर्ने उद्देश्यअनुरुप प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिहरुलाई भर्ना अभियानमा लाग्न आह्वान गरेका बेला राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने निजी विद्यालयमा विद्यार्थी भर्ना गरेका छन् ।

प्रधानमन्त्रीकै पार्टी एमालेबाटै राष्ट्रिय सभा अध्यक्ष बनेका तिमिल्सिनाले वैशाख ५ गते पोखराको निजी स्कुल फेवा पब्लिक सेकेन्डरी स्कुलमा एक विद्यार्थी भर्ना गरेका हुन् । उनले दलित समुदायकी एक बालिकाको अभिभावकत्व ग्रहण गर्दै कक्षा १ मा भर्ना गरेका छन् ।

आफ्नै २ छोरी पनि पोखरा गणेशटोलको त्यही निजी स्कुलमा पढाएका तिमिल्सिनाले गरिब तथा विपन्न वर्गका व्यक्तिले पनि निजी स्कुलमा पढ्न पाउन् भन्ने हेतुले ती विद्यार्थी फेवा स्कुलमा भर्ना गराएको बुझिएको छ ।

तर सरकारले निजीलाई निरुत्साहित गर्दै सामुदायिक विद्यालयलाई प्रोत्साहित गर्ने नीति लिएको ख्याल गर्दै सोही दिनै तिमिल्सिनाले पोखरा ५ को धर्मस्थली आधारभूत विद्यालयमा अर्का एक दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए ।

गोरखा घर भई पोखरामा मजदुरी गर्दै आएकी महिलाका छोराको अभिभावकत्व ग्रहण गर्दै उनले कपी, कलम, झोला र पोसाक उपलब्ध गराएका थिए । त्यसको भोलिपल्ट वैशाख ६ मा उनले फेरि पर्वत पुगेर पनि अर्की एक बालिकाको अभिभावकत्व ग्रह गर्दै सामुदायिक स्कुलमा भर्ना गराएका थिए ।

पोखराको निजी स्कुल फेवामा भर्ना गरेकी बालिकालाई कपी, कलम र झोला तथा पोसाक तिमिल्सिनाले उपलब्ध गराउँदै १० कक्षासम्मै उक्त स्कुलमा पढ्न आफूले सहयोग गर्ने बताएका थिए । उनले निजी विद्यालयलाई नाफाका लागि महँगो शुल्क लिन नहुने सुझाव चाहिँ आफ्नो मन्तव्यका क्रममा दिएका थिए ।