कांग्रेसलाई ओलीको कटाक्ष ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

कांग्रेसलाई ओलीको कटाक्ष !



काठमाडौ – सरकारले ल्याएको आर्थिक वर्ष ०७५ ७६ को बजेटमाथि संसदमा चलेको छलफलका क्रममा विपक्षी सांसदहरूले सिंहदरबारको अधिकार प्रधानमन्त्री कार्यालयमा थुप्रिएको, अधिनायकवादको संकेत देखिएको, संघीयताप्रतिकूल बजेट आएको, राजा गए पनि महाराजा जन्मिएको, प्रधानमन्त्री कार्यालयमा आवश्यकभन्दा बढी बजेट थुपारिएको, भ्रष्टाचार बढेको, मन्त्रीहरूले आफूखुसी काम गरेकोलगायत दर्जनौँ आरोप लगाए ।

शुक्रबार प्रधानमन्त्री केपी ओलीले यी सबै आरोपको एकमुष्ट जवाफ दिए, व्यग्यात्मक रुपमा । आजको नयाँ पत्रिकामा समाचार छ ।

आरोपः विभिन्न विभाग र निकाय प्रधानमन्त्री कार्यालयले नै हेर्ने गरी पुनर्गठन गरियो ।

ओलीको जवाफः माननीयहरूले धन्न एउटा प्रश्न गर्नुभएन । ६४–६४ वटा मन्त्रीले चलाएको देशलाई २४ वटा मन्त्री राखेर के खेलाँची गरेको भनेर धन्न गाली गर्नुभएन । ६४ को पल्टनले हाँकेको देश, के ख्यालठट्टा गरेको २४ ले हाँक्न मिल्छ भन्न सकिन्थ्यो । बिर्सनुभयो कि क्या हो, उठाउनुभएन । देश नयाँ ढंगले नै जान खोजेको छ । संरचनाहरू नयाँ ढंगले नै जान खोजिरहेका छन् । हामीले विधिसम्मत ढंगले अघि बढ्नुछ । सधैँ हिँडिराखेको बाटो अँध्यारो भयो भने पनि कहाँनिर मोड छ, कहाँ घुम्ती छ सबै थाहा हुन्छ । नयाँ बाटो भयो भने उज्यालैमा पनि मान्छेले शंका गर्छन् । हामी नयाँ बाटो हिँड्न खोजिरहेका छौँ ।