ओलीको गुनासो जति राम्रो काम गरे पनि सरकार विरुद्ध गलत प्रचार भएको छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीको गुनासो जति राम्रो काम गरे पनि सरकार विरुद्ध गलत प्रचार भएको छ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा नेता वामदेव गौतमले पूरक प्रस्ताव पेस गरेका छन् । ६ महिनापछि शनिबार पहिलोपटक बसेको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डले संयुक्त प्रतिवेदन प्रस्तुत गरेका थिए । तर, सो प्रतिवेदन अपूर्ण भएको भन्दै नेता गौतमले १६ पेजको पूरक प्रस्ताव ल्याएका हुन् ।

अध्यक्षले २२ पेज लामो राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ९ महिनामा समस्याहरू पहिचान भएको भन्दै सरकारको बचाउ गरेका छन् । तर, नेता गौतमले सरकारका गतिविधि परिवर्तन र प्रगतिको विरुद्धमा भएको आरोप लगाएका छन् ।

अध्यक्षले पार्टी एकता छिटो सम्पन्न गरेर केन्द्रदेखि वडा तहसम्म बृहत् एकता सन्देश अभियान सञ्चालन गर्ने एजेन्डा समेटेका छन् । गौतमले पार्टीका कैयौँ गलत निर्णयले पार्टी कार्यकर्तालाई निराश बनाएको तर्क गरेका छन् ।

अध्यक्षका तर्फबाट प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा आगामी कार्यभारका रूपमा केन्द्रदेखि सात प्रदेश, ७७ जिल्लाका वडा तहसम्म बृहत् भेला, प्रशिक्षण र सभाको प्रस्ताव गरिएको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले बताए ।

पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनको ९ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरूको भूमिका, सचिवालयका निर्णयहरूको अनुमोदन, पार्टी व्यवस्थापन, आगामी कार्यभारसहितका आठ उपशीर्षक छलफलका लागि प्रस्तावित छ ।

आइतबारसम्म अध्ययनका लागि समय दिइएकाले सोमबार बस्ने बैठकमा प्रतिवेदनमा केन्द्रित रहेर छलफल हुने स्थायी समिति सदस्य बेदुराम भुसालले बताए ।

सरकारको विरोधमा प्रचार भइरहेको छ: केपी ओली

सरकारले छोटो अवधिमा पनि असाधारण काम गरिरहेको छ । तथ्यांकले नै त्यस्तो देखाउँछ । तर, जति राम्रा काम गरे पनि बाहिर लगातार सरकारको विरोधमा प्रचार भइरहेको छ ।

सरकार विरुद्ध गलत प्रचार गरेर आक्रमण भइरहेको छ । अहिले वर्गसंघर्ष नै प्रचारको मुद्दामा केन्द्रित छ । सरकारलाई कसरी असफल पार्न सकिन्छ, के गर्दा सरकारविरोधी जनमत बन्छ, विरोधीहरूले त्यही काम गरिरहेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सरकारको समीक्षा हुन नसकेकोमा दुःख लागेको छः प्रचण्ड

अघिल्लो बैठकमा सरकारको कामको समीक्षाका लागि स्थायी समितिको अलग्गै बैठक बस्ने भनियो । तर, पार्टी एकतालगायतका अरू कामले समीक्षा गर्न सकिएन । सरकारको कामको अहिलेसम्म समीक्षा हुन नसकेकोमा नैतिक रूपमा मलाई दुःख लागेको छ ।