ओलीको गुनासो: प्रचण्ड-नेपालले पार्टीका ७५ वटा बैठक भाग खोजेरै बिताए - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

ओलीको गुनासो: प्रचण्ड-नेपालले पार्टीका ७५ वटा बैठक भाग खोजेरै बिताए



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरूको भेलामा पार्टीका कार्यकारी अध्यक्ष र वरिष्ठ नेता माधव नेपालकै कारण आफूले काम गर्न नसकेको र उनीहरूले सधै भाग मात्र खोजेको आरोप लगाएका छन् ।

ओलीले नेकपा सचिवालयका अहिलेसम्म ७५ वटा बैठक भएको उल्लेख गर्दै सबै बैठकमा प्रचण्ड–नेपाल समूहले भागमात्र खोजेको बताएका छन् । सधै मेरो भाग खोइ, मेरा मान्छे खोई, मलाई खोई मात्रै भन्ने गरेको गुनासो गरेका छन् ।

आफू निकटका सांसदहरुको भेलामा सम्बोधन गर्दै उनले लामो समयदेखि लथालिङ्ग रहेको मुलुकको अवस्था सुधार्न गरिएका कामहरुलाई ओझेल पार्न तिनै बेथितिका झिल्काहरु टिपेर मुलुक बर्बाद भएको भन्दै दुश्प्रचार भइरहेको बताए ।

“एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु प-यो,” प्रधानमन्त्री ओलीले भने ।”

“साढे दुई वर्षमा यतिधेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौं र यसमा सफलता पनि पाएका छौं । वर्षौँदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, “सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन् ।”

प्रधानमन्त्री ओलीले बिघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिए ।