माधव नेपाललाई एमालेमा कुनै ठाउँ नदिने ओलीको घोषणा - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

माधव नेपाललाई एमालेमा कुनै ठाउँ नदिने ओलीको घोषणा



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिँदै अब एमालेमा कुनैपनि स्थान नहुने बताएका छन् ।

सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा ओलीले नेपाललाई गद्दारको संज्ञा दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षका विश्वासको मत दिनु असाधारण र चरम अनैतिक भएको उनको भनाइ छ ।

‘हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो,’ उनले भने,‘यो हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो ।’

आफ्नो बहुमत नभएको कमिटीमा जान्न भन्दै नेपालले अध्यक्ष बन्न खोजेको ओलीले आरोप लगाए । उनले नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको भन्दै आक्रोश व्यक्त गरे ।

‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्, उनको हिजोको कृत्य कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको अपराध हो,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलन सक्ने गरी भइरहेको कार्यको पराकाष्टा हिजो देखिएको छ।’

ओलीले यसअघि बालुवाटारबाट बालकोट पुगेपछि पनि माधवकुमार नेपाललाई गद्दार भन्दै पार्टीमा ठाउँ नभएको बताएका थिए ।