ओलीको चिन भ्रमण: रेल र सडक सञ्जाल मुख्य एजेण्डा - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

ओलीको चिन भ्रमण: रेल र सडक सञ्जाल मुख्य एजेण्डा



काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आसन्न चीन भ्रमण आर्थिक एजेन्डामा केन्द्रित हुने भएको छ।

रेलदेखि दुई देशबीच सडक सञ्जाल विस्तार सम्बन्धी सहयोगको प्रस्ताव भ्रमणको प्रमुख एजेन्डा हुने परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्।

प्रधानमन्त्रीको भ्रमणका लागि असार ५ गतेको मिति प्रस्ताव गरिएको छ। मितिबारे लगभग सहमति भए पनि दुवै पक्षले भ्रमणबारे औपचारिक रुपमा सार्वजनिक गरेका छैनन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणमा तातोपानी नाका खुलाउने र अन्य केही जिल्लाका नाका सञ्चालन गर्ने प्रस्ताव गरिने नेपाल पक्षको तयारी छ। भ्रमणमा रेलमार्गको विषय विशेष रुपमा उठाइने जनाइएको छ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणको विषयमा दुई देशका अधिकारीबीच पहिलेदेखि छलफल हुँदै आएको छ। हाल चिनियाँ इञ्जिनियरहरुले त्यसको अध्ययन समेत गरिरहेका छन्।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीनसँग भएका पारवहन तथा यातायात सम्बन्धी सम्झौता कार्यान्वायनको विषयमा पनि भ्रमणमा छलफल गर्न लागिएको छ।

परराष्ट्रले भ्रमणको एजेन्डा बनाउन गृह मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतसँग पटक–पटक छलफल गरिरहेको छ।

प्रधानमन्त्री ओलीले चीनसँग व्यापार बढाउन सम्भाव्य क्षेत्रको पहिचान गर्न निर्देशन दिएको परराष्ट्र स्रोत बताउँछ। चीनसँग व्यापार घाटा बढ्दै गएकाले निर्यात बढाउन पनि भ्रमणमा पहल गर्न लागिएको छ।