ओलीले दिए सभामुख सापकोटालाई हटाउने चेतावनी
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई कडा चेतावनी दिएका छन् । ओलीले १४ सांसदलाई कारबाही नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटामाथि कडा आक्रोश व्यक्त गरे ।
ओलीले सभामुखलाई हटाउने सम्मको धम्की दिँदै निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप समेत लगाए । आइतबार एक कार्यक्रममा बोल्दै ओलीले आफूले कारबाही गरेका सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै सभामुखले पूर्वाग्रही रूपमा यस्तो गरेको आरोप समेत लगाए ।
उनले सभामुख सापकोटाले माओवादीको कार्यकर्ता बनेर यस्तो ब्यबहार गरेको आरोप लगाउँदै यस्तो भुल नगर्न चेतावनी दिए । उनले सभामुख भइसकेपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले आक्रोशित हुँदै सभामुखलाई भने, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’
गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीति विपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।
कारबाहीका लागि सिफारिस गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।