कांग्रेसले एमालेको भण्डाफोर गरे कर्‍याककुरुक पारिदिने ओलीको चेतावनी - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

कांग्रेसले एमालेको भण्डाफोर गरे कर्‍याककुरुक पारिदिने ओलीको चेतावनी



काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको बताएका छन्।

अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै ओलीले विरोधीहरुसँग विरोध गर्ने कुरा नै नभएको बताए। आफ्नो कार्यकालमा धेरै काम गरेको, विकास समृद्धिको लक्ष्य लिएको, विकासोन्मुखबाट देशलाई विकाशील बनाएको, दिगो विकासको लक्ष्य नजिक पुर्‍याउन धेरै काम गरेको दाबी गर्दै ओलीले विरोध गर्ने ठाउँ नै नभएको बताए।

‘कांग्रेसले एमालेको भण्डाफोर गर्ने रे, के भण्डाफोर गर्ने? हामीले राम्रो काम गरेका छौं। सुखी नेपाल समृद्ध नेपालको नारालगायतका धेरै योजना अघि बढाएका छौं’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइनन्। एमाले बलियो रहेछ, एक्लै जान हुँदैन भनिरहेका छन्। एक्ला एक्लै आए त कर्‍याक कुरुक हुन्छन्। एक्ला एक्लै नआए पनि केही फरक पर्दैन। हामी कांग्रेसको भण्डाफोर गर्दैनौं, के नै गरेका छन् र उनीहरुले।’

ओलीले आधार र आत्मविश्वास सहित निर्वाचनमा जान महिलाहरुलाई अपिल गरे।