प्रधानन्यायाधीशलाई ओलीको चेतावनीः अदालतको बितण्डा टुलुटुलु हेरेर बस्न सक्दिन - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

प्रधानन्यायाधीशलाई ओलीको चेतावनीः अदालतको बितण्डा टुलुटुलु हेरेर बस्न सक्दिन



माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको छलफलका आधारमा प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुलीसँग छलफल गरेका थिए ।

छलफलमा प्रधानमन्त्रीले निर्वाचित राष्ट्रपतिको शपथ ग्रहणलाई विवादरहित बनाउन सहयोग गरिदिन पराजुलीसँग आग्रह गरेको स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अदालतमा घटेका घटनाका सन्दर्भमा आफू टुलुटुलु हेरेर बस्न नसक्ने जानकारी गराउँदै समस्याको उपायबारे सबैभन्दा उपयुक्त विधि प्रधानन्यायाधीश पराजुली बिदामा बस्नु भएको बताएका थिए ।

ओलीको त्यस्तो धारणा बुझेपछि प्रधानन्यायाधीश छलफलमा ‘मौन’ रहेर निवास फर्केका थिए । पराजुलीको सेवा १६ वैशाखमा सकिँदै छ । उनको नागरिकताका आधारमा साउनमै पदावधि सकिएको तर्क गर्दै सर्वाेच्चकै न्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार ‘बेन्च बहिष्कार’ गरेका थिए ।

मंगलबार थप ६ न्यायाधीशले पनि न्यायसम्पादन प्रक्रियामा सहभागी नभएपछि अदालतभित्र न्यायाधीशबीचको विवाद थप पेचिलो बनेको छ । सोमबार साँझ पराजुलीले राष्ट्रपति भण्डारीसँग पौने घण्टा भेट गरी अदालतको ‘चेन अफ कमान्ड’ देखि न्यायसम्पादन र गरिमामा आँच ल्याउने काम न्यायाधीश राणाले गरेको जिकिर गर्दै राष्ट्रपतिसँग आफ्नो कुरा राखेका थिए ।

स्रोतका अनुसार अब प्रधानन्यायाधीशका अगाडि तीन विकल्प देखा परेका छन् । पहिलो, उनले बिदामा बस्ने, दोस्रो संसद्मा महाभियोग सामना गर्ने र तेस्रो आफैं अडानमा अडिएर राष्ट्रपति भण्डारीको शपथ खुवाउने ।

‘सबैभन्दा राम्रो भनेकै प्रधानन्यायाधीश पराजुलीले बिदा बस्दा नै हुने देखिन्छ’, माओवादी केन्द्रका एक शीर्ष नेताले भने, ‘तर उहाँ  (पराजुली) बिदामा बस्नु भएन भने अदालतभित्र जतिसुकै अन्तरविरोध, जटिलता, दुविधा, संघर्ष देखा परे पनि राष्ट्रपतिको निर्वाचन परिणामलाई उपादेयता दिने कुरा हुन्छ, शपथको प्रक्रिया अगाडि बढ्छ ।’

अन्नपूर्ण पोस्टबाट