ओलीको विज्ञप्ति: 'कतिपय व्यक्तिले हानीकारक प्रयास गरे' - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

ओलीको विज्ञप्ति: ‘कतिपय व्यक्तिले हानीकारक प्रयास गरे’



काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै ओलीले विरोधीहरुका स्वार्थलाई मलजल गर्न आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएको बताएका हुन् । ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको सिकार बनाउनु हुँदैन आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानीकारक प्रयास भएका छन्,’ ओलीले भनेका छन्, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालीछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानीकारक छन् ।’

पार्टी अध्यक्षको हैसियतमा ओलीले त्यस्ता अपराध कर्ममा संलग्न नहुन सबैलाई आह्वान र आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदैछन् । त्यसको पूर्वसन्ध्यामा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । त्यसर्थ सोमबार एमाले विवादको निर्णायक दिन बन्ने पक्का भएको छ ।

पार्टी विभाजन रोक्न गरेको अन्तिम प्रयासस्वरुप ओलीले विज्ञप्तिमार्फत नेता कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन् ।