निर्णायक वार्ता गर्न गएका नेताहरूले ओली प्रवचन सुनेर फर्किए
काठमाडौं- एमाले विभाजन हुँदा कतैपनि नलागेका एमालेका नेताहरूले अध्यक्ष ओलीलाई भेटेर छलफल गरेका छन् । नेताहरूले ओलीसँग लामो छलफल गरेको बुझिएको छ । छलफलमा नेताहरूले कम ओलीले ज्यादा बोलेका थिए ।
उनीहरूले कुरा सुनाउनुभन्दा अगाडी नै ओलीले प्रवचन दिन सुरू गरेका थिए । वरिष्ठ नेता नेपालको पछाडी लागेर हिड्दा उनीहरूको यो हालत भएको ओलीले बताएका थिए ।
यसअघि ओलीलाई अल्टिमेटम दिएका नेताहरू अन्तिम वार्ता र निर्णायक छलफल भन्दै बालकोट पुगेका थिए । उनीहरूले निर्णायक छलफल होइन ओलीको भाषण भने सुनेर फर्किएको बताइएको छ । दोस्रो पुस्ताका नेताहरू बालकोटस्थित ओलीको निजी निवास पुगेरै सोमवार पार्टी विवादबारे छलफल गर्ने प्रयास गरेका थिए । नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतले ओलीसंग छलफल गरेका थिए । तर छलफल गर्न पुगेका नेताहरू नै रक्षात्मक देखिएको स्रोतले बतायो ।
मंगलबारसम्मको अल्टिमेटम दिएका नेताहरू ओलीसँग निर्णायक वार्ता गर्न भन्दै सोमबार बिहानै बालकोटमै पुगेका थिए । उनीहरूले एमालेको मुख्य नेता नै ओली भएकाले लचकता अपनाउन आग्रह गरेका थिए । उनीहरूले १० बुँदे सहमति र कारबाही फिर्ता गरेको खण्डमा माधव नेपाललाई ल्याउने जिम्मा लिने बताएका थिए ।
नेताहरूले ओलीलाई जसरी भएपनि १४ जना सांसदहरूलाई गरेको कारबाही फिर्ता गर्नुपर्ने बताएका थिए । तर जवाफमा ओलीले जे मन लाग्यो त्यहि गर्दै हिड्नेहरूलाई सधैभरी माफी दिन नसकिने बताएका थिए ।
अल्टिमेटम दिएर छलफल गर्न गएका नेताहरूले ओलीलाई आग्रह मात्रै गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरूले आफ्ना कुरा सुनाउने भन्दापनि ओलीका कुरा सुनेर फर्किएका छन् । ‘सवाव दिन र कुरा सुनाउन आउनु भएको थियो, उल्टै भाषण सुनेर जानुभयो’ स्रोतले भन्यो ।