राष्ट्रपतिले ओलीको बयान गरिरहिन, माधव नेपाल सुनिरहे - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

राष्ट्रपतिले ओलीको बयान गरिरहिन, माधव नेपाल सुनिरहे



काठमाडौं- अघिल्लो साता शीतल निवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो।

पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुँइकिइहाले।

भेटको सुरुवातमा राष्ट्रपति भण्डारीले पछिल्लो महाधिवेशनको प्रसंग उठाउँदै नेपालको टिमबाट सुरेन्द्र पाण्डे महासचिवमा ईश्वर पोखरसँग ६ भोटले हारेको स्मरण गरिन्। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

राष्ट्रपतिले भनिन्, ‘तपाईंलाई मध्यस्तकर्ताको रुपमा सबैले निपुण ठान्छन्। अहिले पार्टीमा देखिएको अन्तरविरोध समाधानमा पनि त्यही अनुसार गरिदिनुपर्यो।’

नेपाल केही नबोली सुनिरहे। भण्डारीले फेरि थपिन्, ‘मैलेभन्दा बढी तपाईंले नै संगत गर्नुभएको र चिन्नुभएको मान्छे हो उहाँ (केपी ओलीप्रति इंगित गर्दै) । मैले पनि एकदिन यहाँबाट छाडेर जानैपर्छ।’

उनले थप अगाडि भनिन्, ‘पार्टी फुट्यो भने राष्ट्रपति पदसमेत आगामी दिनमा अर्को पार्टीका मान्छेको हातमा जान्छ। अरुले सहजै खेल्ने मौका पाउँछन्। हिजो जस्तै भोली पनि नेकपाले छानेको र चुनेको मान्छेलाई नै हस्तान्तरण गर्न सकुँ। पार्टीमा टुटफुट नआओस्, यही मेरो चाहना।’