दुई घण्टा वार्ता: ओलीको पुरानै अडान कायम
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार करिब दुई घन्टा वार्ता भएको छ। मेरियट होटलमा भएको वार्ता सकारात्मक भएको भनिएपनि आधिकारिक रूपमा कुनै जानकारी गराइएको छैन ।
वार्तामा पार्टीका नेता विष्णु पौडेल सुरुमा सहभागी भएपनि केहीबेरमै निस्किएका थिए । केहीबेर वार्तामा सहभागी भएर पौडेल बाहिरिएपछि दुईजनाबीच एक्लाएक्लै वार्ता भएको थियो ।
पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ। वार्ताबाट पहिले प्रधानमन्त्री बाहिरिएका थिए। त्यसपछि बाहिरिएका नेपालले पनि अहिले भन्ने कुरा केही नभएको बताए ।
बालुवाटार स्रोतले भने आजको वार्तामा केपी ओलीले माधव नेपाललाई बिनाशर्त पार्टीमा आए कारवाही र पद फिर्ता हुन सक्ने बताएका थिए । ओलीले बैशाख १० गते शुक्रबार बस्ने केन्द्रीय समितिका बैठकमा सहभागि भएर आफ्ना कुरा राख्न आग्रह गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार गुटगत कुनैपनि कुरा नसुन्ने ओलीको अडान आजपनि कायम रहेको छ ।
योगेश भट्टराई, विष्णु पौडेललगायतका दुवैतिरका केही युवा नेताहरुको विशेष पहलमा यो वार्ता संभव भएको बताइएको छ। भट्टराई बुधबार बालुवाटार पुगेर पार्टी एकता जोगाउन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका थिए।
ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टी विवादले उत्कर्ष लिएको हो। मंगलबार बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई पार्टीले किन कारबाही नगर्ने भन्दै दुई दिने अल्टीमेटमसहित स्पष्टीकरण सोधेको थियो।
माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकाल्दै संभावित कदम रोक्नका लागि अदालतमा समेत निवदेन दिएका छन्।