अब ओलीको आयु सकियो: माधव नेपाल - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

अब ओलीको आयु सकियो: माधव नेपाल



काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले जनताले निरंकुशतन्त्र नसहने बताएका छन्।

उक्त समूहले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘पुस ५ गतेको कालो दिनको विरुद्ध संघर्षको मैदानमा उत्रेका छौं। निरंकुश बाटो समातेका केपी ओली एन्ड प्रवृत्तिको आयु सकियो। जनता निरंकुशतन्त्र सहन तयार छैनन्।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्षी दलहरु पनि सडकमा उत्रिसकेको भन्दै उनले अब पूरै देश केपी ओलीको कदमविरुद्ध एकवद्ध हुने विश्वास व्यक्त गरे।

‘ओलीको कदम संविधानविरोधी र प्रतिगामी हो भनेर बुझिसकेका छन्। यसले अस्थिरता निम्तिने निश्चित छ। यसरी समृद्धि आउँदैन। हामी त्यत्तिकै संविधानको पक्षमा उभिएका होइनौं,’ उनले भने।

ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण र लोकतन्त्रवादीमा हुनुपर्ने आचरण नभएको नेपालले बताए। पार्टी अनुशासनविपरीत काम गरेकाले ओलीलाई अध्यक्षबाट हटाएको बताउँदै उनले अझै पनि सुध्रिएर आए केन्द्रीय कमिटीमा ठाउँ रहेको बताए।