कार्यकर्तालाई दसैँ भत्ता वितरण गर्न प्रतिस्थापन विधेयक ल्याएको ओलीको आरोप
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई दसैँ भत्ता वितरण गर्ने उद्देश्यले सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याएको टिप्पणी गरेका छन् ।
आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पाँच लाखलाई १० हजार रुपैयाँ बाड्ने कार्यक्रम कार्यकर्तालाई दसैँ भत्ता वितरण गर्ने उद्देश्यले आएको बताएका हुन् ।
‘पाँच लाख जना ठ्याक्क गरिब । कहिले पत्ता लगायो यो सरकारले । यो कार्यक्रम कार्यकर्तालाई दसैँ भत्ता वितरण गर्ने किसिमले आएको छ ,’ उनले भने । प्रतिस्थापन विधेयकले अर्थतन्त्रलाई पुनरुत्थान गर्न नसक्ने ओलीको दाबी छ ।
यो विधेयक ध्वंसात्मक र छलछामपूर्ण ढंगले आएको उनले बताए । ‘देशको अर्थतन्त्र, जनताका समस्या समाधानका कुरा अथवा अर्थतन्त्रलाई चलायमान बनाउने सम्बन्धमा प्रतिस्थापन विधेयकमा केही पनि आएको छैन । यसमा ध्वंसात्मक मनोविज्ञान र प्रवृत्ति हाबी छ,’ ओलीले भने ।
प्रतिस्थापन विधेयक छलछामपूर्ण ढंगले पेस भएकाले मान्य नहुने ओलीको भनाइ छ ।